विदेशी पर्यटकले नेपालमा यात्रा गर्दा राहदानी बोक्न नपर्ने व्यवस्था हुँदै


काठमाडौं । नेपाल आउने विदेशी नागरिकले देशभित्र यात्रा गर्दा भौतिक राहदानी बोक्न नपर्ने व्यवस्था लागू गर्ने तयारी भएको छ। अध्यागमन विभागले ‘पासपोर्ट फ्रि ट्राभल’ अवधारणाको अवधारणापत्र स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार नेपाल प्रवेश गरेपछि विदेशी नागरिकले अध्यागमन विभागको मोबाइल एपमा आफ्नो विवरण दर्ता गरेपछि व्यक्तिगत क्युआर कोड प्राप्त गर्नेछन्। होटल, आन्तरिक विमान सेवा, ट्रेकिङ एजेन्सी, मनी एक्सचेन्जर, प्रहरी तथा अन्य सम्बन्धित निकायले उक्त क्युआर कोड स्क्यान गरी विदेशी नागरिकको भिसा तथा अध्यागमन विवरण प्रमाणीकरण गर्न सक्नेछन्।

यस व्यवस्थापछि होटलमा बस्दा, आन्तरिक उडानको टिकट काट्दा, नयाँ सिमकार्ड लिँदा, विदेशी मुद्रा सटही गर्दा वा ट्रेकिङमा जाँदा भौतिक राहदानी साथमा बोक्नुपर्ने छैन।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार यो ‘भिसा फ्रि ट्राभल’ नभई नेपाल प्रवेश गरिसकेपछि आन्तरिक यात्रामा राहदानी बोक्न नपर्ने डिजिटल व्यवस्था हो। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि प्रणाली कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ।

विभागका अनुसार डिजिटल प्रणालीले विदेशी पर्यटकको सुरक्षा, अनुगमन तथा आपत्कालीन उद्धारमा समेत सहयोग पुर्‍याउनेछ। सेवा प्रदायकले पर्यटकको विवरण प्रणालीमा प्रविष्ट गरेपछि उनीहरू कुन स्थान वा होटलमा छन् भन्ने जानकारी प्राप्त गर्न सहज हुनेछ।

यसैगरी, विदेशी नागरिकले नेपाली नागरिक एपमार्फत आफ्नो यात्रा इतिहास डाउनलोड गरी आवश्यक विभिन्न प्रयोजनमा प्रयोग गर्न सक्ने व्यवस्था पनि गरिएको छ। विभागले प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति, आईटी ल्याब र चौबिसै घण्टा हेल्पलाइनको तयारी पूरा गरेको जनाएको छ।

 

प्रतिक्रिया

ट्रेन्डिङ समाचार