काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले दसैँ, तिहार र छठपछि वर्तमान सरकारविरुद्ध जनता स्वतःस्फूर्त रूपमा सडकमा उत्रिने दाबी गर्नुभएको छ।
नेकपाको गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकारको स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार कार्यशैलीप्रति जनतामा आक्रोश र निराशा बढ्दै गएको बताउनुभयो।
उहाँले महँगी, ग्यास अभाव, किसानलाई मलको समस्या तथा विपद्पछिको उद्धार र राहतमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै जनताको असन्तुष्टि बढेको दाबी गर्नुभयो। सरकारविरुद्ध हुने सम्भावित आन्दोलनको नेतृत्व र व्यवस्थापनका लागि पार्टी पंक्ति अहिल्यैदेखि तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियो।
पुनले सरकारको कार्यशैलीका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर हुँदै गएको दाबी गर्दै त्यसको रक्षाका लागि जनता सडकमा उत्रिने समय आएको बताउनुभयो।

प्रतिक्रिया