मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतबाट भदौ ३१ गतेदेखि असोज २ गतेसम्म चार लटमा भेडाच्याङ्ग्रा नेपाल ल्याइएको पशु क्वारेन्टाइन कार्यालय पोखराले जनाएको छ।
कार्यालयका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीका अनुसार भदौ ३१ गते १५५, असोज १ गते ११८ च्याङ्ग्रा र ४६ भेडा तथा असोज २ गते १०० च्याङ्ग्रा नेपाल भित्रिएका हुन्।
लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले पशुपालन प्रयोजनका लागि तिब्बतबाट भेडाच्याङ्ग्रा खरिद गरी ल्याएका हुन्। आवश्यक स्वास्थ्य प्रमाणपत्र र खोपसम्बन्धी विवरणका आधारमा क्वारेन्टाइन चेकपोस्टले स्वीकृति दिएको जनाइएको छ।
नेपाल भित्रिएका भेडाच्याङ्ग्रालाई लोमान्थाङका न्याम्डो र छोसेर क्षेत्रमा स्थानीय बथानबाट अलग राखिएको छ। क्वारेन्टाइन नियमअनुसार उनीहरूलाई सात दिनसम्म छुट्टै राखी पशु प्राविधिक र प्रहरीले निगरानी गर्नेछ।
यसैबीच, कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनसमेत नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराले जनाएको छ।

प्रतिक्रिया