‘संविधान नागरिकको जीवनमा अनुभूत हुने बनाउनुपर्छ’ : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको वास्तविक अर्थ नागरिकको जीवनमा परिवर्तन र सुशासनमार्फत अनुभूत हुनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नागरिकमा आशा कायम राख्न राज्यले प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा आवश्यक रहेको उल्लेख गरे । नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने उनको भनाइ थियो ।

उनले संविधानलाई भाषणमा मात्र सीमित नराखी नागरिकको जीवनमा कार्यान्वयन गर्ने संकल्प गर्न आग्रह गरे । नागरिकले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्नुपर्ने अवस्था अन्त्य भएमा मात्रै संविधानको साँचो अर्थ अनुभूत हुने उनले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार