काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित नागरिकको कठिन अवस्था र तत्कालको आवश्यकता ध्यानमा राख्दै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको केन्द्रीय कार्यालय नयाँ दिल्लीबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको सहयोगका लागि सबै सहकर्मीलाई अघि बढ्न आग्रह गरेका छन्।
उनले विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान गर्नु सबैको सामाजिक दायित्व भएको बताएका छन्। कम्पनीको स्थापना दिवसलाई संस्थागत यात्राको उत्सवका रूपमा मात्र नभई दुःखमा परेका नागरिकसँग सहानुभूति र ऐक्यबद्धता प्रकट गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
ओरिएन्टल इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र प्रभावित समुदायको शीघ्र पुनरुत्थानको कामना गरेको छ।

प्रतिक्रिया