ADVERTISEMENT

बाढीले बिजुली निर्यात घट्यो, बंगलादेशतर्फ ठप्प

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजना बन्द हुँदा नेपालबाट हुने विद्युत् निर्यात घटेको छ। दैनिक औसत करिब १ हजार मेगावाट निर्यात हुँदै आएकोमा अहिले करिब ६५० मेगावाटमा सीमित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको उत्पादन बन्द भएपछि बंगलादेशतर्फको विद्युत् निर्यात पूर्ण रूपमा रोकिएको छ। यी दुई आयोजनाबाट क्रमशः २१.४ र १८.६ मेगावाट विद्युत् भारत हुँदै बंगलादेशमा निर्यात हुँदै आएको थियो।

भोटेकोशी बाढीबाट यी दुईसहित १२ वटा आयोजनाको उत्पादन प्रभावित भएको छ। प्रसारणलाइनमा क्षति पुगेका कारण केही आयोजनालाई भने स्थानीय माग धान्ने गरी ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिएको छ।

यसैबीच, भारतले तीन जलविद्युत् आयोजनाको निर्यात अनुमति नवीकरण नगर्दा थप ७३.७५ मेगावाट विद्युत् निर्यात हुन सकेको छैन। माथिल्लो चमेलिया, सेती नदी र माथिल्लो तादी खोलाको निर्यात अनुमति सकिए पनि नवीकरण हुन बाँकी छ।

प्राधिकरणले बंगलादेशमा निर्यातका लागि अन्य आयोजनाको विद्युत् पठाउन भारतसँग स्वीकृति मागेको छ। साथै, चिनियाँ लगानी, ठेकेदार वा उपकरण संलग्न आयोजनाको विद्युत् निर्यातमा भारतले स्वीकृति दिन ढिलाइ गर्दै आएकाले निर्यात बढाउन कूटनीतिक पहल आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

नेपालले आर्थिक वर्ष २०८२/८३ मा भारत र बंगलादेशमा गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो। सोही अवधिमा भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको विद्युत् आयात गरेको थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार