काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीले निम्त्याएको मानवीय विपत्तिको वास्तविक तस्वीर झन् भयावह बन्दै गएको छ। सरकारी पछिल्लो तथ्यांकअनुसार बाढीमा परी हालसम्म ७ सय ८१ जनाको शव फेला परेको छ भने २ हजार ५ सय २ जना अझै सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते साँझ ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, जिल्लामा बाढीबाट ठूलो मानवीय क्षति भएको हो।
प्राधिकरणको तथ्यांकले विपत्तिको गहिराइ मात्र देखाएको छैन, अझै कति मानिसको अवस्था अज्ञात छ भन्ने गम्भीर प्रश्नसमेत खडा गरेको छ। खोज तथा उद्धार टोलीले नदी किनार, बगर, जंगल तथा बाढीले पुरिएका संरचनामा खोजी जारी राखेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
चितवनमा सबैभन्दा धेरै शव
हालसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २ सय ७२ जना छन्। त्यसपछि नवलपरासी पूर्वमा १ सय ९९, नवलपरासी पश्चिममा १ सय, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको विवरणमा उल्लेख छ।
कतिपय शव तथा मानव अंगको पहिचान हुन बाँकी रहेकाले मृतकको वास्तविक संख्या अझै यकिन हुन नसकेको अवस्था छ। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन्।
२ हजार ५ सय २ परिवार अझै प्रतीक्षामा
बाढीमा हराएका २ हजार ५ सय २ जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांकले देखाएको छ। यसको अर्थ हजारौँ परिवार अझै आफ्ना आफन्त जीवितै फर्किने आशामा खोजी र सूचनाको प्रतीक्षामा छन्।
सरकारी उद्धार संयन्त्रले भने खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ। पछिल्लो विवरणअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० हजार ६ सयभन्दा बढी सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा शव व्यवस्थापनमा परिचालन भएका छन्।
नेपाली सेनाले मात्रै हालसम्म २ हजार ६ सय ५० जनाको उद्धार गरेको जनाएको छ।
उद्धारपछि पनि चुनौती उस्तै
बाढीको प्रारम्भिक झड्कापछि उद्धार तीव्र पारिए पनि अहिले सरकारसामु बेपत्ताको खोजी, शव पहिचान, शव व्यवस्थापन र पीडित परिवारलाई यथार्थ सूचना दिने चुनौती थपिएको छ।
यसबीच शवहरू तीव्र रूपमा कुहिन थालेपछि पहिचान नखुलेका शव व्यवस्थापनसमेत जटिल बन्दै गएको छ।
सरकारले खोजी कार्यलाई अझै प्रभावकारी बनाउँदै बेपत्ताको एकीकृत विवरण, डीएनए परीक्षण, शवको डिजिटल अभिलेख र परिवारसँग सूचना आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।
भोटेकोशीको बाढीले छोडेको क्षतिको पूर्ण तस्वीर अझै बाहिर आइसकेको छैन। २ हजार ५ सयभन्दा बढी मानिसको अवस्था अज्ञात रहनु नै विपत्तिको वास्तविक भयावहता बुझ्न पर्याप्त छ। खोजी जारी रहेसँगै फेला पर्ने शवको संख्या बढेमा मानवीय क्षतिको सरकारी आँकडा अझै माथि जान सक्ने देखिन्छ।


