काठमाडौं । भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन बुढानीलकण्ठ नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बुढानीलकण्ठ नगरपालिकाको ९३औँ तथा आकस्मिक नगर कार्यपालिका बैठकले विपद्बाट प्रभावित तथा घाइते नागरिकको सुरक्षित पुनःस्थापना र सहज जीवनयापनका लागि आवश्यक सहयोग गर्ने निर्णय गर्दै उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका रूपमा जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत गरी एकमुष्ट ५५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
यसअघि विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो।
नगरपालिकाले आर्थिक सहयोगसँगै विपद्मा परेका नागरिकको उद्धार, उपचार र राहतलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरेको छ। विपद् प्रभावित नागरिकलाई घटनास्थलबाट स्वास्थ्योपचारका लागि अस्पतालसम्म लैजान स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स परिचालन गर्ने तथा नगर प्रहरीको नेतृत्वमा प्रभावित क्षेत्रबाट उद्धार गरिने नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउन एक थान चारपांग्रे सवारीसाधन व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ।
त्यस्तै, राष्ट्रिय विपद्को यस घडीमा नगरवासी, निजी क्षेत्र, संघ–संस्था, शुभेच्छुक तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न नगरपालिकाले आह्वान गरेको छ।
नगरपालिकाले खाद्यान्नलगायतका राहत सामग्री संकलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय पनि गरेको छ। यसबाट विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त राहत सामग्रीलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था गरिनेछ।
विपद्बाट घाइते तथा प्रभावित नागरिकको उपचारमा आवश्यक पर्ने रगतको अभाव हुन नदिन नगरपालिकाले सबै वडामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
नगर कार्यपालिकाले विपद्को समयमा राज्यका सबै तह, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै उद्धार, उपचार, राहत र पुनःस्थापनाका काममा स्थानीय तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नगर प्रमुख अधिकारी र नगर उपप्रमुख अनिता लामाद्वारा जारी प्रेस विज्ञप्तिमार्फत नगरपालिकाले विपद्मा परेका नागरिकलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन नगरवासीलाई समेत आह्वान गरेको छ।


