काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा भने मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका थोरै तथा एक–दुई स्थानमा पनि वर्षा जारी रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर

