काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन्।
आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले संकट समाधानका लागि कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको बताए।
राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा वर्तमान असाधारण अवस्था सिर्जना भएको उनको भनाइ थियो। उनले विगतका कमजोरीमा एक–अर्कालाई दोष दिनुभन्दा सामूहिक आत्मसमीक्षा गर्दै साझा निकास खोज्नुपर्नेमा जोड दिए।
प्रचण्डले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’को सम्बन्ध रहेको उल्लेख गर्दै साझा उद्देश्यका लागि कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।


