काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा कानुन पुनरावलोकन, गरिमाको सालिक निर्माणमा पहल तथा परिवारको रीतिरिवाजअनुसार अन्त्येष्टि गर्ने विषयमा सहमति भएको हो।
सहमति अनुसार जघन्य अपराधमा विद्यमान कसुर तथा सजायसम्बन्धी कानुन पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गरिनेछ। यसका लागि कानुन मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्नेछ।
त्यस्तै, गरिमाको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित परिवारले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार गरिमाको अन्त्येष्टि गर्ने विषयमा पनि सरकार सहमत भएको छ।
जितपुर सिमरा–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराएकी गरिमा भदौ २ गते सोही स्थानको एक घरमा मृत अवस्थामा भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो।
घटनापछि दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौँसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन्। सहमतिअनुसार घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारका मागसमेत सम्बोधन गरिने सरकारले जनाएको छ।


