सिमरा, बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा न्यायको माग गर्दै स्थानीयवासीले पथलैया र सिमरामा सडक आन्दोलनलाई निरन्तरता दिएका छन्।
बुधबारदेखि जारी प्रदर्शनका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा वीरगञ्ज–पथलैया सडक प्रभावित भएको छ। सडक खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच विवादसमेत भएको छ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैयाको सडक अवरोध हटाएर सिमरा केन्द्रित आन्दोलन गर्न आग्रह गरेका छन्।
बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिको रोहबरमा पाँचबुँदे सहमति भए पनि गरिमाको परिवारले त्यसलाई अस्वीकार गरेको छ। सहमति आफूहरूको सहमतिबिना गरिएको भन्दै परिवारले आन्दोलन जारी राखेको हो।
गरिमाको शव कलैया अस्पतालमा रहेको छ भने परिवार र स्थानीयवासीले दोषीलाई कारबाही तथा न्यायको माग गर्दै सडकमा धर्ना दिइरहेका छन्।


