विश्वकपको फाइनल हेर्न आतुर नेपाल सहित विश्वका करोडौ फुटबलप्रेमी :अर्जेन्टिना–स्पेन आमनेसामने, मेसीको अनुभव कि यमालको जादु ?

चौथो तारासहित अर्जेन्टिना फेरि चम्किनेछ कि १६ वर्षपछि स्पेन विश्वको नयाँ राजा बन्नेछ ?


काठमाडौं ।  विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव आज उत्कर्षमा पुग्दै छ। नेपालसहित विश्वभरका करोडौं फुटबल समर्थकको नजर अब केवल एउटा खेलमा केन्द्रित छ— फिफा विश्वकप २०२६ को फाइनल। साबिक विश्वविजेता अर्जेन्टिना र पूर्वविश्वविजेता स्पेनबीच हुने यो ऐतिहासिक भिडन्तले नयाँ विश्वच्याम्पियनको फैसला गर्नेछ।

अमेरिकाको न्युजर्सीस्थित न्यूयोर्क–न्युजर्सी स्टेडियममा हुने उपाधि भिडन्त नेपाली समयअनुसार आइतबार अहिले राति १२ः४५ बजे सुरु हुनेछ। विश्व नम्बर–१ अर्जेन्टिना र विश्व नम्बर–२ स्पेन आमनेसामने हुँदा यो खेललाई पछिल्ला वर्षकै सबैभन्दा प्रतीक्षित विश्वकप फाइनलका रूपमा हेरिएको छ।

विशेष कुरा, विश्वकपमा यी दुई टोली ६० वर्षपछि फेरि एकपटक भिड्दै छन्। सन् १९६६ को विश्वकपपछि पहिलोपटक अर्जेन्टिना र स्पेन विश्वकपमा आमनेसामने हुन लागेका हुन्, त्यो पनि उपाधिका लागि।

चारौँ तारा कि दोस्रो स्वर्णिम युग ?

अर्जेन्टिनाका लागि यो केवल अर्को फाइनल मात्र होइन, इतिहासमा चौथो विश्वकप जित्ने अवसर पनि हो। सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितिसकेको अर्जेन्टिनाले आज सफलता दोहोर्याए राष्ट्रिय जर्सीमा चौथो तारा थप्नेछ।

उता स्पेन १६ वर्षपछि फेरि विश्व फुटबलको सर्वोच्च सिंहासनमा फर्किने लक्ष्यमा छ। सन् २०१० मा पहिलोपटक विश्वकप जितेको स्पेन त्यसयता उपाधिविहीन छ। त्यसैले आजको खेल स्पेनका लागि हराएको गौरव फर्काउने अवसर हो भने अर्जेन्टिनाका लागि आफ्नो प्रभुत्व कायम राख्ने परीक्षा।

सुपरस्टार मेसी र राइजिङ स्टार यमालको पुस्तान्तरणको फाइनल

यो फाइनल केवल दुई राष्ट्रबीचको प्रतिस्पर्धा मात्र होइन, दुई पुस्ताका महान खेलाडीबीचको प्रतीकात्मक भिडन्त पनि हो।

एकातिर छन् विश्व फुटबलका जीवित किंवदन्ती लियोनल मेसी। अर्कोतर्फ छन् विश्व फुटबलका सबैभन्दा चम्किला युवा प्रतिभा लमिन यमाल।

बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका यी दुई खेलाडी आज विश्वकपको सबैभन्दा ठूलो मञ्चमा आमनेसामने उभिनेछन्।

यी दुईबीचको सम्बन्ध झन् रोचक छ। यमाल शिशु हुँदा युनिसेफको एक फोटोसुटमा मेसीले उनलाई बाथटबमा नुहाइदिएको तस्बिर अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ। वर्षौंअघि एउटै फ्रेममा देखिएका ती दुई पात्र आज विश्वकप ट्रफीका लागि प्रतिस्पर्धा गर्दैछन्।

मेसीको अन्तिम अध्याय ?

मेसीका लागि यो सम्भवतः विश्वकप करिअरको अन्तिम फाइनल पनि हुन सक्छ। उनले सन् २००६ देखि २०२६ सम्म लगातार छ वटा विश्वकप खेलेका छन्।

करिअरमा ८ सयभन्दा बढी गोल गरेका मेसीले विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। सन् २०२२ मा अर्जेन्टिनालाई तेस्रो विश्वकप दिलाएका उनले जारी संस्करणमा पनि उत्कृष्ट लय कायम राख्दै ८ गोल गरिसकेका छन्।

यमालको स्वर्णिम उदय

उता मात्र १९ वर्षको उमेरमै लमिन यमाल विश्व फुटबलको नयाँ सुपरस्टारका रूपमा उदाएका छन्। उत्कृष्ट ड्रिब्लिङ, तीव्र गति र खेल पढ्ने अद्भुत क्षमताका कारण उनी अहिले स्पेनका सबैभन्दा भरोसायोग्य खेलाडी बनेका छन्।

जारी विश्वकपमा उनले साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो प्रभाव देखाइसकेका छन्। यदि स्पेनले उपाधि जिते यमाल विश्व फुटबलको नयाँ युगको नेतृत्व गर्ने खेलाडीका रूपमा स्थापित हुनेछन्।

फाइनलसम्मको रोमाञ्चक यात्रा

स्पेन समूह ‘एच’को विजेताका रूपमा नकआउट चरणमा पुगेको थियो। समूह चरणमा साउदी अरेबियालाई पराजित गर्दै, उरुग्वेलाई हराउँदै र केप भर्डेसँग बराबरी खेल्दै उसले सात अंक बटुलेको थियो।

नकआउटमा भने स्पेन झन् बलियो देखियो। उसले अस्ट्रियालाई ३–०, पोर्चुगललाई १–०, बेल्जियमलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो। त्यसपछि उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्सलाई २–० ले स्तब्ध पार्दै फाइनलको टिकट काट्यो।

अर्जेन्टिनाले पनि समूह ‘जे’मा उत्कृष्ट प्रदर्शन गर्दै अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराएर शीर्ष स्थान हासिल गरेको थियो।

नकआउट चरणमा भने उसले लगातार कठिन परीक्षा पार गर्‍यो। अन्तिम ३२ मा अतिरिक्त समयमा केप भर्डेलाई ३–२ ले हरायो। अन्तिम १६ मा इजिप्टलाई ३–२ ले पराजित गर्‍यो भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हरायो। सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को शानदार पुनरागमन जित निकाल्दै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान सुरक्षित गर्‍यो।

इतिहास के भन्छ ?

विश्वकप इतिहासमा अर्जेन्टिना र स्पेनबीच यो दोस्रो भेट हो। पहिलोपटक सन् १९६६ को विश्वकपमा समूह चरणमा यी दुई टोली भिडेका थिए, जहाँ अर्जेन्टिनाले २–१ को जित निकालेको थियो।

समग्र अन्तर्राष्ट्रिय भेटमा भने दुवै टोली बराबरीकै अवस्थामा छन्। अहिलेसम्म भएका १४ खेलमध्ये स्पेनले ६ खेल जितेको छ भने अर्जेन्टिनाले पनि ६ खेल आफ्नो पक्षमा पारेको छ। दुई खेल बराबरीमा टुंगिएका छन्।

विश्व फुटबलको नयाँ इतिहास कसले लेख्ला ?

एकातिर अनुभवी मेसीको नेतृत्वमा लगातार दोस्रो विश्वकप जित्ने लक्ष्य बोकेको अर्जेन्टिना छ। अर्कोतर्फ यमालको उदयसँगै नयाँ युग सुरु गर्न चाहने स्पेन।

अनुभव र युवा जोश, परम्परा र नयाँ पुस्ता, विश्व नम्बर–१ र विश्व नम्बर–२—यी सबै समीकरणले आजको फाइनललाई पछिल्ला दशककै सबैभन्दा रोमाञ्चक उपाधि भिडन्त बनाएको छ।

अब प्रतीक्षा केवल ९० मिनेटको छ। त्यसपछि विश्व फुटबलले नयाँ इतिहास लेख्नेछ— चौथो तारासहित अर्जेन्टिना फेरि चम्किनेछ कि १६ वर्षपछि स्पेन विश्वको नयाँ राजा बन्नेछ ?

२०८३ श्रावण ३, आईतवार २२:२२ प्रकाशित
ट्रेन्डिङ समाचार