नयाँ आर्थिक वर्षमा २० सचिव अनिवार्य अवकाशमा


काठमाडौँ । नयाँ आर्थिक वर्षमा निजामती सेवाका विशिष्ट श्रेणी (सचिव) पदबाट २० जना अनिवार्य अवकाशमा जाने भएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार उनीहरू ५ वर्षे कार्यकाल पूरा हुनु वा ५८ वर्षे उमेरहद पुग्नुका आधारमा अवकाशमा जान लागेका हुन्।

सरकारसँग हाल ७१ सचिवको दरबन्दी भए पनि ५८ जना मात्रै कार्यरत छन् र १३ पद रिक्त छन्। यद्यपि, नयाँ सचिव नियुक्तिको प्रक्रिया भने सुरु भएको छैन।

अनिवार्य अवकाशमा जाने सचिवहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका किरणराज शर्मा, हरिप्रसाद मैनाली र लोकनाथ पौडेलसहित गृहसचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकाससचिव गोपालप्रसाद सिग्देल, संस्कृति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, महिला तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, विज्ञान मन्त्रालयका सचिव दिनानाथ मिश्र र रक्षासचिव केदारनाथ शर्मा लगायत छन्।

यस आर्थिक वर्षभर प्रशासन, इञ्जिनियरिङ, न्याय सेवा र सरकारी वकिल समूहका सचिवहरू क्रमशः अवकाशमा जानेछन्।

२०८३ श्रावण १, शुक्रबार १९:३७ प्रकाशित
ट्रेन्डिङ समाचार