सागर पण्डित,काठमाडौं।
लामो समयदेखि नियमित हुन नसकेको सचिव बैठकलाई अब पुनः व्यवस्थित, नियमित र परिणाममुखी बनाइने भएको छ। नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीले पदभार ग्रहण गरेलगत्तै सचिव बैठकलाई सक्रिय बनाउने तयारी थालेका हुन्।
शुक्रबार औपचारिक कार्यक्रमबिनै पदबहाली गर्दै कार्यभार सम्हालेका मुख्य सचिव कार्कीले सचिवहरूबीच नियमित समन्वय, मन्त्रालयहरूको कार्यसम्पादनको समीक्षा तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै सचिव बैठकलाई संस्थागत रूपमा सञ्चालन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार अब सचिव बैठक नियमित रूपमा सञ्चालन हुनेछ। उनका अनुसार मुख्य सचिव कार्कीले प्रत्येक महिनाको पहिलो साताभित्र अनिवार्य रूपमा सचिव बैठक बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
यसअघि सचिव बैठक अनियमित बन्दै गएको थियो। परिणामस्वरूप मन्त्रालयहरूबीच समन्वय कमजोर हुने, साझा प्रशासनिक समस्या समयमै समाधान नहुने तथा सरकारका प्राथमिकता कार्यान्वयनमा प्रभाव पर्ने अवस्था देखिएको थियो। नयाँ मुख्य सचिवले भने सचिव बैठकलाई सरकारको प्रशासनिक नेतृत्व र कार्यसम्पादन सुधारको प्रमुख माध्यमका रूपमा प्रयोग गर्ने तयारी गरेका छन्।
सरकार सञ्चालन, मन्त्रालयहरूबीच समन्वय, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, विकास आयोजनाको प्रगति समीक्षा तथा प्रशासनिक समस्याको समाधानका लागि सचिव बैठकलाई सरकारको सबैभन्दा महत्वपूर्ण प्रशासनिक संयन्त्र मानिन्छ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन ले मुख्य सचिवलाई नेपाल सरकारको प्रमुख प्रशासनिक अधिकारीका रूपमा सचिवहरूको बैठक नियमित सञ्चालन गर्ने, निर्णय कार्यान्वयन गराउने, मन्त्रालयहरूबीच समन्वय कायम गर्ने तथा समग्र प्रशासनिक संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्ने जिम्मेवारी दिएको छ। यही कानुनी व्यवस्थाअनुसार मुख्य सचिव कार्कीले सचिव बैठकलाई पुनः प्रभावकारी बनाउने तयारी गरेका हुन्।
प्रशासनविद्हरूका अनुसार सचिव बैठक केवल औपचारिक छलफलको मञ्च होइन, सरकारको प्रशासनिक ‘कमाण्ड सेन्टर’ हो। मन्त्रालयहरूबीच उत्पन्न समस्या, अन्तरमन्त्रालय समन्वय, नीति कार्यान्वयनका अवरोध, बजेट खर्चको अवस्था, सार्वजनिक सेवा प्रवाह तथा तत्काल निर्णय आवश्यक विषयमा यही बैठकबाट साझा निष्कर्ष र निर्देशन तय हुने गर्छ।
सुशासन ऐनले मुख्य सचिवलाई सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतहरूको सुपरिवेक्षण, आवश्यक निर्देशन, मन्त्रालयहरूको प्रशासनिक कामकारबाहीमा समन्वय तथा शासकीय सुधारका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पनि दिएको छ। यी जिम्मेवारीलाई संस्थागत रूपमा कार्यान्वयन गर्ने सबैभन्दा प्रभावकारी माध्यम सचिव बैठक नै भएकाले यसको नियमित सञ्चालनलाई प्रशासन सुधारको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
नयाँ मुख्य सचिव कार्कीको यो पहलले सचिवहरूबीच नियमित संवाद, प्रशासनिक प्राथमिकतामा एकरूपता तथा मन्त्रालयहरूको कार्यसम्पादनमा उत्तरदायित्व र परिणाममुखी संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सचिव बैठकबाट के–के हुन्छ ?
- मन्त्रालयहरूको कार्यसम्पादन समीक्षा
- अन्तरमन्त्रालय समन्वयका समस्या समाधान
- नीति तथा कार्यक्रम कार्यान्वयनको अनुगमन
- बजेट तथा विकास आयोजनाको प्रगति समीक्षा
- मुख्य सचिवबाट प्रशासनिक निर्देशन र सुधारका निर्णय
- सार्वजनिक सेवा प्रवाह सुधारका रणनीति तय



