काठमाडौं । सेयर बजार बिहीबार पनि ओरालो लागेको छ । नेप्से परिसूचक १९.६७ अंक घटेर २६०१ अंकमा कायम भएको छ । कारोबार रकमसमेत घटेको छ । अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँमा सीमित भयो ।
बजार दिनभरजसो नकारात्मक रह्यो । ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचक ओरालो लागेका छन् ।
उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशत बढ्यो भने स्नो रिभर्सको ११.७६ प्रतिशत वृद्धि भयो । यता सालपा विकास बैंक, थ्रीस्टार हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा उच्च गिरावट देखियो ।
बिहीबार धेरै कारोबार हुने कम्पनीमा डिबेन्चर अगाडि रहे । रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स संस्थापक सेयर, आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्स पनि उच्च कारोबार गर्ने कम्पनीमा परे ।
मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण गर्ने व्यवस्था मौद्रिक नीतिमा उल्लेख भएपछि लगानीकर्तामा अन्योल बढेको देखिएको छ । साथै असार मसान्त नजिकिँदै गर्दा बैंकको साँवा तथा ब्याज भुक्तानीका लागि सेयर बिक्री बढ्दा पनि बजारमा दबाब परेको अनुमान गरिएको छ ।



