काठमाडौं । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि ल्याइएको पेट्रोल बोकेको ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ।
नविन ढुवानी सेवा प्रा.लि.को ट्यांकरले भारतीय आयल कर्पोरेसनको सिलिगुरी डिपोबाट २० हजार लिटर पेट्रोल ल्याएको थियो। विराटनगरमा पार्किङ गरिएका बेला ट्यांकर हराएपछि खोजी गर्दा सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला परेको थियो।
जिल्ला प्रशासन, प्रहरी, निगम र ढुवानीकर्ताको उपस्थितिमा ट्यांकर परीक्षण गर्दा २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल अभाव देखिएको निगमले जनाएको छ। बाँकी १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा जम्मा गरिएको छ।
निगमले ढुवानी विनियमावलीअनुसार चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरेको जनाएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ।