रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, बालेन शाहले गरे प्रस्ताव


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्विरोध चयन भएको जानकारी दिएका हुन् ।

बन्दसत्र हल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को प्रस्ताव र ५१ जना केन्द्रीय सदस्य, सांसद तथा सचिवालय सदस्यको समर्थनमा लामिछाने सभापति निर्विरोध निर्वाचित भएको बताए ।

‘केन्द्रीय समिति, सांसद र सचिवालय सदस्यसहित ५१ जनाको समर्थनमा उहाँ सभापतिमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ निर्वाचन आयोग प्रमुख केसीले भने ।

यद्यपि सभापतिका लागि उम्मेदवारी दर्ताको समय औपचारिक रूपमा बाँकी रहे पनि अन्य कुनै उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

यसैबीच रास्वपाको केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताको क्रम केही समयसम्म चल्नेछ ।

आयोग प्रमुख केसीका अनुसार केन्द्रीय समिति सदस्य चयनका लागि मतदान भने भोलि बिहान ९ बजेदेखि सुरु हुनेछ ।

२०८३ असार ९, मंगलवार २१:५४ प्रकाशित
ट्रेन्डिङ समाचार