सरकारी भवनभित्रका ट्रेड युनियन कार्यालय हटाउन काठमाडौं प्रशासनको ७ दिने अल्टिमेटम
साइबोर्डदेखि कार्यालय संरचनासम्म हटाउन निर्देशन, अटेर गरे कानुनी कारबाही हुने चेतावनी
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालन हुँदै आएका ट्रेड युनियन तथा कर्मचारी आबद्ध संघ–संस्थाका कार्यालय, साइबोर्ड र संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ।
प्रशासनले सोमबार “अत्यन्त जरुरी सूचना” जारी गर्दै काठमाडौं जिल्लाभित्रका सरकारी तथा सार्वजनिक निकायमा रहेका यस्ता सबै कार्यालय तथा बोर्ड तत्काल हटाई सरकारी संरचना खाली गर्न निर्देशन दिएको हो।
सूचनाअनुसार संस्था दर्ता ऐन, २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएका प्राविधिक, पेशागत तथा कर्मचारी आबद्ध गैरसरकारी प्रकृतिका संघ, संगठन र संस्थाले सरकारी भवन तथा संरचनाभित्र राखेका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा इकाइ कार्यालय अब हटाउनुपर्नेछ।
काठमाडौं प्रशासनले विशेष गरी सरकारी कार्यालयभित्र राखिएका साइबोर्ड, कार्यालय कक्ष तथा अन्य संरचनाले सरकारी सम्पत्तिको प्रयोग गैरसरकारी प्रयोजनमा भइरहेको भन्दै ती सबै हटाउन स्पष्ट निर्देशन दिएको छ।
यस्तै, सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई समेत यस्ता संघ–संस्थाले प्रयोग गर्दै आएका बोर्ड, कक्ष र संरचना हटाई सम्बन्धित क्षेत्र खाली गराउन आग्रह गरिएको छ।
प्रशासनले सात दिनभित्र पनि निर्देशन कार्यान्वयन नभए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।