पार्टी फुटाउन सक्ने गतिविधि नगर्न ओलीको चेतावनी


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठन र विशेष महाधिवेशनका नाममा भइरहेका गतिविधिले पार्टी फुट्न सक्ने चेतावनी दिनुभएको छ।

बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि आइतबार गुण्डुमा आयोजित बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूलाई यस्ता गतिविधिमा सक्रिय नहुन निर्देशन दिनुभएको बताइएको छ। बैठकमा उहाँले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूका गतिविधिबाट पार्टी एकतामा असर पर्न सक्ने धारणा राख्नुभएको स्रोतले जनाएको छ।

अध्यक्ष ओलीले आफूलाई नेतृत्वबाट हटाउने प्रयास भइरहेको दाबी गर्दै आफ्नो कमजोरी वा अपराध के हो भन्नेबारे आफूलाई जानकारी नभएको पनि बताउनुभएको नेताहरूले बताएका छन्। यसैबीच, एमाले सचिवालयले गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र थप विवादको विषय बन्दै गएको छ।

२०८३ असार १, सोमबार १४:३२ प्रकाशित
ट्रेन्डिङ समाचार