काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र प्रगति चाहेको बताउनुभएको छ। सोमबार लोकसेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आयोगको निष्पक्षता, योग्यता र स्वच्छताको परम्परालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य सुशासन, प्रभावकारी सेवा प्रवाह र विकास भएको उल्लेख गर्दै राज्य संयन्त्रलाई जनमुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले लोकसेवा आयोगलाई आधुनिक प्रविधिको प्रयोग बढाउन, समयसापेक्ष परीक्षण विधि अपनाउन तथा गुणस्तरीय सेवा कायम राख्दै भावी योजना वैज्ञानिक ढंगले तयार गर्न सुझाव दिनुभयो।
उहाँले संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रअनुसार योग्यता प्रणालीको संरक्षण आजको आवश्यकता भएको बताउँदै आयोगप्रतिको जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको धारणा व्यक्त गर्नुभयो।

