काठमाडौ महानगरको नीति तथा कार्यक्रम जेठ ३१ र बजेट असार ४ मा
काठमाडौं ।काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ । त्यसको कार्यान्वयनका लागि आवश्यक बजेट भने असार ४ गते प्रस्तुत गरिने तयारी गरिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार नीति तथा कार्यक्रम र बजेट दुवैको तयारी अन्तिम चरणमा पुगेको छ । उनका अनुसार यसपटक महानगरले सुशासन, सांस्कृतिक संरक्षण, दिगो शहरी विकास र समावेशी समृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
महानगरले काठमाडौंलाई व्यवस्थित, हरित र सांस्कृतिक पहिचानसहितको आधुनिक सहरका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न महत्वाकांक्षी योजना अघि सारेको जनाएको छ । नीति तथा कार्यक्रममा विकास आयोजना तथा बजेट कार्यान्वयनमा पूर्ण सुशासन कायम गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।
यसपटक पनि महानगरले करिब २५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ । बजेटमा सामाजिक क्षेत्र, पूर्वाधार विकास, नदी तथा खोला व्यवस्थापन, फोहोर तथा वातावरण व्यवस्थापन, हरियाली प्रवर्द्धन र सार्वजनिक सेवा सुधारलाई विशेष प्राथमिकता दिइने भएको छ ।
महानगरले काठमाडौँको मौलिकता, ऐतिहासिकता र सांस्कृतिक सम्पदाको संरक्षणलाई विकाससँग जोड्दै बहुआयामिक शहरी विकासको खाका तयार पारेको जनाएको छ । सोहीअनुसार योजनाको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिइने बताइएको छ ।
यस्तै, आर्थिक समृद्धि र समावेशी विकासलाई नीति तथा कार्यक्रमको मुख्य आधार बनाइएको छ । दिगो विकास लक्ष्य लाई स्थानीय तहमा कार्यान्वयन गर्ने गरी बजेट विनियोजन प्रणालीलाई समेत पुनःसंरचना गर्ने तयारी गरिएको छ ।
महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै समुदायको सहभागिता सुनिश्चित गर्दै सामाजिक न्यायलाई प्रवर्द्धन गर्ने कार्यक्रमसमेत समेटिएको महानगरले जनाएको छ ।
स्वास्थ्य सेवा सुदृढीकरणका लागि ‘स्वस्थ सहर’ अभियान सञ्चालन गरिने भएको छ भने दीर्घकालीन तथा ठूला आयोजना कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय र सहकार्यलाई समेत प्राथमिकतामा राखिएको छ ।