नीतिगत कब्जा अन्त्य गर्न सरकार थप कडा बन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गर्न तथा नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार थप कडा रूपमा अघि बढ्ने बताउनुभएको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कुशासनलाई जरैदेखि अन्त्य गर्ने अभियानमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। वर्तमान सरकार नागरिक, उद्यमी तथा व्यवसायीको सुशासनको अपेक्षाअनुसार काम गरिरहेको उहाँको भनाइ छ।
मन्त्री वाग्लेले डिजिटलाइजेशनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, योग्यता प्रणाली (मेरिटोक्रेसी) स्थापित गर्ने र नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभयो।
उहाँले कर नीतिमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने, उपभोग वृद्धि गर्ने तथा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। साथै, केही अनावश्यक अन्तःशुल्क खारेज गरिएको र उत्पादनमूलक क्षेत्रलाई सीमित अवधिका लागि संरक्षण प्रदान गरिएको पनि उहाँले बताउनुभयो।