बहालवाला सचिवमाथि ‘हावादारी केरकार’ ? प्रहरी शैलीले निजामती मनोबलमा धक्का

टेकु पुगे, चिया खाए, फर्किए तर रातभर ‘पक्राउ’को हल्ला ,मुख्य सचिव र गृहसचिवको समन्वय कमजोर भएको भन्दै प्रश्न ?


सागर पण्डित,काठमाडौं । विहीबार राति एकाएक एउटा खबर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा तीव्र रूपमा फैलियो— उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर पक्राउ परे । “गृहमन्त्रालय स्रोत”लाई उद्धृत गर्दै सार्वजनिक गरिएको उक्त खबर केही समयमै भाइरल बन्यो । तर वास्तविकता भने ठीक उल्टो थियो— सचिव पुष्कर आफ्नै घरमा श्रीमतीसँगै बसिरहेका थिए ।

यो घटनाले एउटा व्यक्तिमाथिको भ्रम मात्र सिर्जना गरेन, समग्र निजामती प्रशासनमै त्रास, असन्तोष र गम्भीर प्रश्न खडा गरिदिएको छ । विशेषगरी कुनै औपचारिक अभियोग नै नलागेका बहालवाला सचिवलाई प्रहरी कार्यालयमा बोलाइने, केही सोधपुछपछि फर्काइने तर बाहिर “पक्राउ”को सन्देश प्रवाह हुने शैलीले राज्य संयन्त्रभित्रको समन्वय, संवेदनशीलता र जिम्मेवारीमाथि प्रश्न उठाएको छ ।

सचिव पुष्कर र उहाँकी श्रीमती, नेपाल सरकारकी सहसचिव आभा श्रेष्ठ, दुवैले घटना र असत्य समाचार प्रवाह प्रति गहिरो दुःख र आश्चर्य व्यक्त गरेका छन् ।
घटना सार्वजनिक हुनासाथ प्रशासनपोष्टले सहसचिव आभा श्रेष्ठलाई सम्पर्क गरेको थियो । फोन उठाउँदै आभाले अचम्मित स्वरमा भन्नुभयो—“सागर सर, हामी त अचम्ममा परिरहेका छौं । पुष्कर सर यही घरमै हुनुहुन्छ । हामी सँगै बसिरहेका छौं, तर मिडियामा पक्राउ भनेर समाचार आयो । यस्तो पनि हुन्छ ?”

उहाँले थप भावुक हुँदै भन्नुभयो—“कम्तीमा समाचार लेख्नुअघि एकपटक फोन गरेर बुझ्न सकिन्थ्यो । विश्वसनीयता र सत्यतथ्य नै पत्रकारिताको आधार होइन र ? हामी घरमै बसेर ‘पक्राउ’ भएको समाचार पढिरहेका छौं । अब आम नागरिकले पत्रकारितामाथि कसरी विश्वास गर्ने ?”त्यसपछि सचिव पुष्कर स्वयं फोनमा आउनुभयो । उहाँको स्वरमा असन्तोष र पीडा दुवै मिसिएको थियो ।“म घरमै छु । आभा म्याडम र म सँगै बसिरहेका छौं,” उहाँले भन्नुभयो, “तर मोबाइल र सामाजिक सञ्जालभरि म पक्राउ परेको समाचार देखिरहेछु । कम्तीमा मलाई वा आभालाई एकपटक फोन गरेको भए हुन्थ्यो ।”

आखिर भएको के थियो ?

सचिव पुष्कर आगामी असार २५ गतेदेखि सरकारी सेवाबाट अवकाशमा जाँदै हुनुहुन्छ । उमेर अझै सक्रिय भएकाले र कूटनीतिक क्षेत्रमा योगदान दिने इच्छा राख्दै उहाँले सरकारले खुलाएको राजदूत नियुक्तिको प्रतिस्पर्धामा आवेदन दिनुभएको रहेछ ।

पुष्करका अनुसार उहाँले आवेदन दिनुअघि नै मुख्य सचिव सुमनराज अर्याल तथा प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव किरणराज शर्मालाई जानकारी गराउनुभएको थियो ।
त्यसपछि उहाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि एउटा शिष्ट सन्देश पठाउनुभएको रहेछ । आफ्नै जिल्ला र गाउँठाउँको सम्बन्ध भएकाले शुभेच्छास्वरूप पठाइएको उक्त सन्देशमा आफूले राजदूतको प्रतिस्पर्धामा आवेदन दिएको जानकारी मात्र उल्लेख गरिएको उहाँको भनाइ छ ।

“मैले अत्यन्तै शालीन र मर्यादित भाषामा म्यासेज गरेको थिएँ,” पुष्करले भन्नुभयो, “सहयोग र शुभेच्छा अपेक्षा गरेको मात्रै हो । त्यसमा कुनै गलत उद्देश्य थिएन ।”
तर यही सन्देशपछि घटनाले अनपेक्षित मोड लियो ।विहीबार साँझ टेकुस्थित प्रहरी कार्यालयबाट उहाँलाई फोन आयो । “केही समयका लागि आउनुहोस्” भनिएपछि पुष्कर स्वयं प्रहरी कार्यालय पुग्नुभयो ।उहाँका अनुसार त्यहाँ पुगेपछि प्रहरी अधिकारीहरूले सामान्य ढंगले म्यासेजबारे बुझ्न खोजे ।

“त्यहाँ भएका अधिकांश अधिकारीहरू मेरै चिनजानका र सँगै काम गरेका साथीहरू थिए,” उहाँले भन्नुभयो, “उहाँहरूले चिया खुवाउनुभयो, म्यासेजबारे सोध्नुभयो, मैले सबै स्पष्ट पारेँ । त्यसपछि ‘ल जानुस्’ भनेर पठाउनुभयो ।”उहाँको प्रश्न छ—“म आफैं प्रहरी कार्यालय गएँ, कुरा स्पष्ट पारेँ र फर्किएँ । यसलाई कसरी ‘पक्राउ’ भन्न मिल्छ ?”

‘पक्राउ’ होइन भने यस्तो हल्ला कसरी फैलियो ?यही प्रश्न अहिले निजामती वृत्तमा व्यापक रूपमा उठिरहेको छ ।घटनाको सबैभन्दा संवेदनशील पक्ष के देखिएको छ भने बहालवाला सचिवलाई प्रहरी कार्यालयमा बोलाउँदा मुख्य सचिवलाई औपचारिक जानकारी गराइएको थिएन । गृहसचिवलाई विस्तृत जानकारी गराइएको थिएन् ।

मुख्य सचिव सुमनराज अर्यालसँग प्रशासनपोष्टले जिज्ञासा राख्दा उहाँले भन्नुभयो—“सचिवलाई किन र के प्रयोजनले बोलाइएको हो भन्नेबारे मलाई औपचारिक जानकारी आएको छैन ।”प्रहरीले कुनै गम्भीर अभियोगबिना बहालवाला सचिवलाई बोलाएर सोधपुछ गर्ने, त्यसपछि छोड्ने तर बाहिर “पक्राउ”को सन्देश जाने अवस्थाले समग्र निजामती प्रशासनको मनोबल कमजोर बनाउने चिन्ता बढेको छ ।

प्रशासनिक वृत्तमा अहिले एउटा गम्भीर प्रश्न उठिरहेको छ—“यदि आज सचिवमाथि यस्तो हुन सक्छ भने भोलि अन्य कर्मचारी कति सुरक्षित छन् ?”

मुख्य सचिव र गृहसचिवको भूमिका कमजोर ?

प्रशासनिक विश्लेषकहरूका अनुसार यस्ता विषयमा मुख्य सचिव र गृहसचिव दुवैले अत्यन्त संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । कुनै बहालवाला सचिवमाथि अनुसन्धान आवश्यक परे पनि त्यसको प्रक्रिया, समन्वय र प्रस्तुति अत्यन्त मर्यादित र संस्थागत हुनुपर्छ ।

अन्तर्राष्ट्रिय अभ्यासमा समेत उच्च प्रशासनिक पदाधिकारीमाथि कारबाही वा सोधपुछ अघि सम्बन्धित राज्य संयन्त्रबीच स्पष्ट समन्वय हुने गरेको उदाहरण दिइन्छ ।तर यहाँ भने प्रहरीको एक फोनपछि बहालवाला सचिव प्रहरी कार्यालय पुग्ने, केही बेरमा फर्किने र बाहिर भने “पक्राउ”को हल्ला फैलिने अवस्थाले राज्य संयन्त्रबीच समन्वय कमजोर भएको संकेत गरेको कर्मचारीहरूको बुझाइ छ ।

मुख्य सचिव अर्यालले पनि यो विषय संवेदनशील रहेको स्वीकार गर्दै भन्नुभयो—“हिजो रातिको विषय भएकाले धेरै बुझ्न पाइएन । आज कार्यालय गएर थप बुझ्छु । यस्ता घटनाले मनोबलमा असर पार्न सक्छन्, तर वास्तविकता के हो त्यो बुझ्नुपर्छ ।”उता गृहसचिव राजकुमार श्रेष्ठले भने सचिव पुष्करलाई पक्राउ गरिएको भन्ने समाचार निराधार भएको बताउनुभयो ।

‘सचिव पुष्करलाई बोलाउनु अघि आइजीले मलाई सामान्य छलफलका लागि हो भनेर जानकारी गराउनुभएको थियो तर बाहिर अतिरञ्जित किसिमले समाचार आयो । ’गृहसचिव श्रेष्ठले प्रशासनपोष्टसँग भन्नुभयो । गृहमन्त्रालयको हवाला दिएर सचिव पक्राउको समाचार आउनु दुखद रहेको सचिव श्रेष्ठको भनाई छ । सचिव श्रेष्ठले पनि यस्ता विषय संवेदनशील रहेको स्वीकार्नुभयो ।

कर्मचारीतन्त्रमा बढ्दो त्रास
यो घटनाले अहिले निजामती कर्मचारी वृत्तमा अर्को चिन्ता जन्माएको छ— प्रहरी प्रशासन क्रमशः निजामती प्रशासनमाथि हावी हुँदै गएको त होइन ?
बहालवाला सचिवलाई स्पष्ट आधारबिना बोलाउने, सोधपुछ गर्ने र त्यसपछि सार्वजनिक रूपमा पक्राउको भाष्य निर्माण हुने प्रवृत्तिले कर्मचारीतन्त्रभित्र असुरक्षा र त्रास बढ्ने कर्मचारीहरूको भनाइ छ ।

प्रशासनिक मनोबल कमजोर हुँदा त्यसको प्रत्यक्ष असर राज्यको कार्यसम्पादनमै पर्ने जानकारहरू बताउँछन् । त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रधानमन्त्री, मुख्य सचिव, गृहसचिव तथा सम्बन्धित निकायहरूले स्पष्ट मापदण्ड, समन्वय र जिम्मेवारीका साथ काम गर्नुपर्ने माग कर्मचारी वृत्तबाट उठ्न थालेको छ ।

जे होस्, विहीबार रातिको घटनाले एउटा कुरा स्पष्ट पारेको छ—राज्य संयन्त्रभित्रको असंवेदनशीलता, हचुवा सूचना र समन्वयहीनताले केवल एउटा व्यक्तिको प्रतिष्ठामात्र होइन, समग्र प्रशासनिक संयन्त्रको मनोबलसमेत कमजोर पार्न सक्छ ।

२०८३ जेष्ठ २२, शुक्रबार ०८:३८ प्रकाशित
ट्रेन्डिङ समाचार