काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारद्वारा गरिएको सूचना तथा विज्ञापनसम्बन्धी निर्णय खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा नागरिकको सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी सर्कुलरअनुसार सरकारबाट माग सम्बोधन नभएको भन्दै जेठ २५ गते देशभरका महासंघका संरचनाले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउनेछन्। त्यसैगरी जेठ २७ र २९ गते सबै जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
यस्तै, असार १ र ३ गते प्रदेश समितिहरूले मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने तथा असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन र सरोकारवालासहित वृहत् ऐक्यबद्धता र्याली आयोजना गरिने महासंघले जनाएको छ। महासंघले आफ्ना सबै संरचनालाई निर्धारित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।



