शेल कम्पनीमार्फत बैंक कर्जा दुरुपयोग गरेको आरोपमा पाण्डे पक्राउ
जनकपुर । शेल कम्पनी (कृत्रिम व्यवसाय) खडा गरी बैंक कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।
प्रहरीका अनुसार पाण्डेले इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रा.लि.मार्फत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै प्रभु बैंकबाट कर्जा लिएको, धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई कर्जा स्वीकृत गराएको तथा कर्जा रकम उद्देश्यविपरीत प्रयोग गरेको आरोप छ।
उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उच्च अदालत पाटनको पक्राउ अनुमति पश्चात उनलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ स्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको हो।
हाल पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको छ।