मोदी–रवि भेट : ‘साझा समृद्धि’देखि नेपाल–भारत सहकार्यसम्म छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भेटमा नेपाल–भारत सम्बन्ध, साझा समृद्धि, क्षेत्रीय सहकार्य र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।
भेटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग मिलेर साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको सन्देश दिएका छन् । उनले लामिछानेसँगको भेटलाई सकारात्मक र फलदायी भएको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई अझ नजिक बनाउने इच्छा व्यक्त गरेका छन् ।
मोदीले भनेका छन्, “साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत तथा पूर्ण समर्थन गर्दछु ।”
भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेलाई सोमबार भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा भाजपा नेतृत्वले नेपाल–भारत राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन संवाद र सहकार्य आवश्यक रहेको धारणा राखेको बताइएको छ ।
भारत भ्रमणकै क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय गृहमन्त्री अमित शाह सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । ती भेटमा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, क्षेत्रीय स्थायित्व तथा दुई देशबीचको जनसम्बन्धका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
रास्वपाका अनुसार सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा गएको हो । प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले छिमेकी भारतसँगको सम्बन्धलाई औपचारिक सरकारी तहभन्दा बाहिर राजनीतिक दल–दलबीचको संवादमार्फत पनि अघि बढाउने संकेत गरेको विश्लेषण गरिएको छ । दिल्लीमा भएका पछिल्ला उच्चस्तरीय भेटघाटलाई त्यसकै निरन्तरताका रूपमा हेरिएको छ ।