सहसचिव परीक्षामा टपर बनेका डा. डिजनको सफल हुने सूत्र

“पहिलो हुनु संयोग होइन, निरन्तर अनुशासन, अध्ययन र आत्मविश्वासको प्रतिफल हो”


(नेपालको निजामती सेवामा अध्ययनशील, शालीन, विश्लेषणात्मक र परिणाममुखी प्रशासकका रूपमा परिचित डा. डिजन भट्टराईले गत वर्षको आन्तरिक प्रतियोगितात्मक सहसचिव परीक्षामा सबै प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भए। सहसचिव पदको अत्यन्त प्रतिस्पर्धात्मक परीक्षामा शीर्ष स्थान हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, मेहनत, अनुशासन र स्पष्ट लक्ष्यका साथ अघि बढे असम्भव जस्तो देखिने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हो।

लोकसेवा आयोगका परीक्षाहरू हजारौं कर्मचारी तथा युवाका लागि अवसर, चुनौती र सपनाको संगम हुन्। तर सफलताको शिखरमा पुग्नेहरूका पछाडि वर्षौंको साधना, सही अध्ययन पद्धति, समय व्यवस्थापन, आत्मअनुशासन र निरन्तर आत्मविश्वास लुकेको हुन्छ। डा. भट्टराईको सफलता पनि यिनै सूत्रहरूको परिणाम हो।

 

 

सहसचिव परीक्षाको तयारी कसरी गर्ने ? सीमित समयलाई प्रभावकारी रूपमा कसरी उपयोग गर्ने ? उत्तर लेखनमा उत्कृष्टता कसरी हासिल गर्ने ? परीक्षाको दबाब र मानसिक तनावलाई कसरी व्यवस्थापन गर्ने ? अनि अन्ततः प्रतिस्पर्धाको भीडमा आफूलाई उत्कृष्ट सावित गर्ने सूत्र के हो ?  यिनै जिज्ञासाको जवाफ खोज्ने प्रयासस्वरूप प्रशासनपोस्टका सागर पण्डितले सहसचिव परीक्षाका टपर डा. डिजन भट्टराईसँग गर्नुभएको कुराकानीको सारसंक्षेप)
लोकसेवा तयारी गरिरहेका हरेक कर्मचारी, अधिकृत तथा भावी प्रशासकका लागि यो अन्तर्वार्ता केवल अनुभवको आदानप्रदान मात्र होइन, सफलताको मार्गचित्र बन्न सक्छ।)

गत वर्षको सहसचिवको प्रतिस्पर्धात्मक परीक्षा पहिलो हुन तपाईंले अपनाएको मुख्य अध्ययन रणनीति के थियो ?
धेरै मानिसले लोकसेवा तयारीलाई “धेरै घण्टा पढ्ने” प्रक्रियाका रूपमा बुझ्छन्। तर मेरो अनुभवमा सफलताको मूल रहस्य “कसरी पढ्ने” भन्नेमा हुन्छ, “कति पढ्ने” भन्नेमा होइन।मैले तयारी गर्दा पहिलो काम नै तोकिएको पाठ्यक्रमलाई आजको मूल्य सापेक्षता बुझ्ने प्रयास गरेँ। राज्य, शासन, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थनीति, सार्वजनिक व्यवस्थापन, समसामयिक विषय र नेपालको विद्यमान प्रणालीमा कसरी आन्तरिकीकरण भएको छ भन्ने कुरालाई मनन् गरें।मेलै लोकसेवाको परीक्षा तयारी गर्नु भनेको तथ्य कण्ठ गर्नु मात्र थिएन, विचार निर्माण गर्नु थियो।

त्यसैले मैले तीन तहको रणनीति अपनाएँ
पहिलो : Conceptual Clarity
विषयलाई सतही रूपमा होइन, जरोसम्म बुझ्ने प्रयास गरेँ।उदाहरणका लागि, “सुशासन” भन्ने शब्द पढ्दा सुशासनका तथ्यमा मात्रै होइन कि, नेपालमा किन सुशासन चुनौतीपूर्ण छ ? प्रशासनिक संस्कृति के छ ? राजनीतिक अर्थशास्त्रले कसरी असर गर्छ ? नागरिक अपेक्षा किन बढेको छ ?जस्ता प्रश्नमा सोच्ने गर्थें।
दोस्रो : Interlinking Method
लोकसेवामा एउटा मात्र विषय पढेर पुग्दैन।
अर्थतन्त्रलाई राजनीति, राजनीतिालाई कूटनीति, कूटनीतिलाई सुरक्षा, सुरक्षालाई विकास र विकासलाई प्रशासनसँग जोडेर पढेँ।यही अन्तरसम्बन्धात्मक अध्ययनले उत्तरलाई गहिरो बनाउँछ।
तेस्रो : Writing-Centered Preparation
धेरै पढ्ने तर लेख्ने अभ्यास नगर्ने परीक्षार्थी अन्तिममा कमजोर देखिन्छन्।मैले सुरुदेखि नै उत्तर लेखनलाई तयारीको केन्द्रमा राखेँ।हरेक विषयलाई “यदि प्रश्न आयो भने कसरी लेख्ने ?” भन्ने दृष्टिले हेर्थें।मलाई लाग्छ, लोकसेवाको परीक्षा ज्ञानको मात्र होइन, विचारलाई संरचित रूपमा प्रस्तुत गर्ने क्षमताको परीक्षा पनि हो।

लोकसेवा तयारीका क्रममा दैनिक पढाइको रुटिन र समय व्यवस्थापन कसरी गर्नुहुन्थ्यो ?
लोकसेवा तयारीमा समय व्यवस्थापन भनेको घण्टा गन्नु होइन, ऊर्जा व्यवस्थापन गर्नु हो।मेरो दिन निकै संरचित हुन्थ्यो।म बिहान सबेरै उठ्ने गर्थें। बिहानको समय मस्तिष्क सबैभन्दा ताजा हुने भएकाले विश्लेषणात्मक र गहिरा विषयहरू बिहान पढ्थें।सधैं अफिस जानु पर्ने भएकाले पढ्ने समय कमै मिल्थ्यो।रातको समयलाई मैले राम्ररी उपयोग गरें।सुतेपछि ननिदाउन्जेल सम्म पनि म कुनै न कुनै विषयको आलोचनात्मक विश्लेषण गरि नै रहन्थे।अर्को महत्वपूर्ण कुरा— मैले “Digital Discipline” अपनाएँ।अनावश्यक मोबाइल प्रयोग, सामाजिक सञ्जाल र समय नष्ट गर्ने गतिविधिबाट आफूलाई धेरै हदसम्म अलग राखेँ।मेरो विचारमा लोकसेवा तयारीमा समयको अभाव भन्दा पनि प्राथमिकताको अभाव हुन्छ।

सहसचिव तहको परीक्षामा सफल हुन सबैभन्दा महत्वपूर्ण तीन कुरा के हुन् ?
मेरो अनुभवमा तीन कुरा निर्णायक हुन्छन्ः
• Depth of Understanding
• Analytical Writing Skill
• Emotional Stability
सतही तयारीले सहसचिव तहमा सफलता पाउन गाह्रो छ।त्यसैले विषयलाई गहिराइमा बुझ्नुपर्छ।लोकसेवाको परीक्षामा तथ्य सबैले लेख्छन्।तर विश्लेषण गर्ने, तुलना गर्ने, समाधान प्रस्तुत गर्ने र निष्कर्ष दिने क्षमताको विकास गरिनु जरुरी हुन्छ।तयारीको क्रममा थकान आउँछ, निराशा आउँछ, आत्मविश्वास घट्छ।तर जो मानसिक रूपमा स्थिर रहन्छ, अन्ततः उसैले सफलता हासिल गर्छ।लोकसेवाको परीक्षा बौद्धिक परीक्षा मात्र होइन, मानसिक सहनशीलताको पनि परीक्षा हो भन्ने कुरालाई बोध गरेर मैले आफूले आफूलाई सन्तुलित राख्न प्रयास गरें।शायद त्यही नै मेरो सफलताको आधार हो।

धेरै पढेर पनि असफल भइरहेका परीक्षार्थीले कहाँ गल्ती गरिरहेका हुन्छन् ?
धेरैजसो परीक्षार्थीको समस्या “कम पढाइ” होइन, “अव्यवस्थित पढाइ” हो भन्ने मलाइ लाग्छ। कतिपयले सामग्री यति धेरै संकलन गर्छन् कि अन्तिममा उनीहरू सामग्रीको भारीले नै थिचिन्छन्। कतिपयले केवल तथ्य कण्ठ गर्छन्, तर विश्लेषण गर्दैनन्। कतिपयले पढ्छन्, तर लेख्दैनन्।कतिपयले लेख्छन्, तर Feedback लिँदैनन्।अझ ठूलो समस्या के छ भने धेरै परीक्षार्थीले आफ्नो “Original Thinking” विकास गर्दैनन्।सबैको उत्तर एउटै शैलीको हुन्छ।तर लोकसेवाले अब “सोच्ने क्षमता” खोजिरहेको छ।त्यसैले म प्रायः भन्ने गर्छु, “लोकसेवामा सफल हुन किताब पढेर मात्र पुग्दैन, समाज पढ्नुपर्छ, राज्य बुझ्नुपर्छ, समयको चेतना महसुस गर्नुपर्छ।”

उत्तर लेखन कला र विश्लेषणात्मक क्षमतामा सुधार ल्याउन तपाईंले के अभ्यास गर्नुभयो ?
उत्तर लेखन मेरो तयारीको केन्द्रबिन्दु थियो।मैले हरेक प्रश्नलाई चार भागमा सोच्ने गर्थें—
* Introduction
* Core Analysis
* Critical Perspective
* Way Forward / Conclusion
यसले उत्तरलाई संरचित बनाउँथ्यो।म समाचार पढ्दा पनि यसबाट प्रश्न कसरी बन्न सक्छ ? भनेर सोच्थें।एउटा घटनालाई प्रशासन, राजनीति, अर्थतन्त्र, कूटनीति र समाजसँग जोडेर हेर्ने अभ्यास गर्थें।विश्लेषणात्मक क्षमता बढाउन मैले एउटै विषयलाई विभिन्न आयामबाट हेर्ने अभ्यास धेरै गरें। हरेक विषयलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र अन्तर्राष्ट्रिय दृष्टिले हेर्ने गर्थे।उत्तर लेखनमा मैले एउटा कुरा विशेष ध्यान दिएँ—
“Language should be simple, but thinking should be deep.”

तयारीका क्रममा मानसिक दबाब, निराशा र थकानलाई कसरी व्यवस्थापन गर्नुभयो ?
सत्य कुरा के हो भने लोकसेवा तयारी अत्यन्त एक्लो यात्रा हो।बाहिरबाट मानिसले परिणाम मात्र देख्छन्, तर भित्रको संघर्ष देख्दैनन्।कहिलेकाहीँ आत्मविश्वास घट्थ्यो।कहिलेकाहीँ लाग्थ्यो— “के म सफल हुन्छु त ?” त्यस्तो बेला म आफूलाई एउटा कुरा सम्झाउँथेँ, यदि लक्ष्य ठूलो छ भने संघर्ष पनि ठूलो हुन्छ।मैले मानसिक सन्तुलनका लागि सीमित तर गुणस्तरीय सामाजिक सम्बन्ध, सकारात्मक आत्मसंवाद, परिवारसँग भावनात्मक संवादका कार्यहरु नियमित रुपमा गरें।सबैभन्दा महत्वपूर्ण कुरा मैले आफूलाई अरूसँग तुलना गर्न छोडेँ।लोकसेवाको परीक्षाका सन्दर्भमा सबैको यात्रा फरक हुन्छ।मलाई विश्वास थियो, धैर्य राख्ने मानिसलाई समयले कहिल्यै अन्याय गर्दैन।

लोकसेवामा नाम निकाल्न चाहने युवा परीक्षार्थीलाई तपाईं ले दिन चाहने ‘टपर टिप्स र सफलता मन्त्र के हो ?
म युवा साथीहरूलाई केही कुरा मनदेखि भन्न चाहन्छु—
पहिलो :लोकसेवा केवल जागिर होइन, राष्ट्र निर्माणको अवसर हो।यदि तपाईंको उद्देश्य केवल पद र सुविधा हो भने यात्रा लामो टिक्दैन।भित्र सेवा भावना पनि हुनुपर्छ।
दोस्रो :Consistency beats intensity.एकदिन १५ घण्टा पढेर पाँच दिन नपढ्नु भन्दा दैनिक ६ घण्टा निरन्तर पढ्नु प्रभावकारी हुन्छ।
तेस्रो : Answer writing is king.जति पढे पनि लेख्न सकिएन भने सफलता कठिन हुन्छ।परिक्षकले हामीले कति दुःख गरेर पढेका छौ, थाहा पाउँदैन, कपीमा के लेख्यौ त्यही हेरेर नम्बर दिने हो।
चौथो :Failure is not the opposite of success; it is part of success.असफलता अन्त्य होइन, सुधारको संकेत हो।म पनि लोक सेवा आयोगको परीक्षामा धेरै पटक असफल भएको छु।
पाँचौं :आफ्नो आत्मविश्वास बचाइराख्नुहोस्।लोकसेवा तयारीमा सबैभन्दा पहिले मानिसको आत्मविश्वास नै कमजोर बनाइन्छ।आफैसँग हारियो भने जित्नलाई बाँकी केही रहँदैन भन्ने कुरालाई बोध गर्नुहोस।
अन्त्यमा, लोकसेवा परीक्षा मात्र होइन, व्यक्तित्व निर्माणको यात्रा हो।यहाँ किताबले मात्र होइन, धैर्यले जिताउँछ।यहाँ भाग्यले होइन, अनुशासनले उचाइ दिन्छ।अन्ततः संघर्षलाई निरन्तरता दिने मानिसलाई सफलता रोक्न सक्दैन।आज लोकसेवाको तयारी गरिरहेका हजारौं युवालाई म एउटा विश्वास दिन चाहन्छु,तपाईं अहिले जुन संघर्षमा हुनुहुन्छ, त्यो व्यर्थ छैन।रातभर पढेर थाकेका आँखा, असफलतापछि बगेका आँसु, समाजका प्रश्न, परिवारको अपेक्षा यी सबैले तपाईंलाई कमजोर होइन, परिपक्व बनाइरहेका हुन्छन्।सफलता कहिलेकाहीँ ढिलो आउला, तर तयारी इमानदार छ भने परिणाम अवश्य आउँछ।किनकि, इतिहास उनीहरूले लेख्छन्, जो कठिन समयमै हार मान्दैनन्।

 

 डा डिजनका परीक्षामा सफल बन्ने १२ सूत्र
१. धेरै होइन, सही तरिकाले पढ्नुहोस्
सफलता “कति घण्टा पढियो” मा होइन, “कसरी पढियो” मा निर्भर हुन्छ। विषयको गहिरो बुझाइ विकास गर्नुहोस्।
२. पाठ्यक्रमलाई जीवन र समसामयिकतासँग जोड्नुहोस्
किताबका तथ्य मात्र होइन, राज्य, शासन, अर्थतन्त्र, समाज र वर्तमान घटनासँग विषयलाई जोडेर बुझ्ने बानी बसाल्नुहोस्।
३. अवधारणागत स्पष्टता (Conceptual Clarity) बनाउनुहोस्
कुनै पनि विषयको जरोसम्म पुग्ने प्रयास गर्नुहोस्। सतही ज्ञानले उच्च तहको परीक्षा पार गराउँदैन।
४. अन्तरसम्बन्ध (Interlinking) गरेर अध्ययन गर्नुहोस्
राजनीति, प्रशासन, अर्थतन्त्र, कूटनीति, सुरक्षा र विकासबीचको सम्बन्ध बुझ्नुहोस्। यही क्षमताले उत्तरलाई विशिष्ट बनाउँछ।
५. उत्तर लेखनलाई तयारीको केन्द्रमा राख्नुहोस्
लोकसेवामा ज्ञानभन्दा त्यसलाई व्यवस्थित ढंगले प्रस्तुत गर्ने क्षमता महत्वपूर्ण हुन्छ। दैनिक लेख्ने अभ्यास अनिवार्य गर्नुहोस्।
६. समय होइन, ऊर्जाको व्यवस्थापन गर्नुहोस्
दिनको सबैभन्दा प्रभावकारी समय कठिन र विश्लेषणात्मक विषयका लागि प्रयोग गर्नुहोस्। नियमितता नै सफलताको आधार हो।
७. डिजिटल अनुशासन अपनाउनुहोस्
अनावश्यक मोबाइल, सामाजिक सञ्जाल र समय खेर फाल्ने गतिविधिबाट आफूलाई टाढा राख्नुहोस्।
८. तथ्य होइन, विश्लेषण दिन सिक्नुहोस्
उत्तरमा समस्या, कारण, प्रभाव, समाधान र निष्कर्ष प्रस्तुत गर्ने क्षमता विकास गर्नुहोस्। लोकसेवाले अब सोच्ने क्षमता खोज्छ।
९. आफ्नै मौलिक सोच (Original Thinking) विकास गर्नुहोस्
अरूको नोट र उत्तरको नक्कल होइन, आफ्नै दृष्टिकोण र विश्लेषण प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्।
१०. मानसिक रूपमा बलियो बन्नुहोस्
लोकसेवा बौद्धिक मात्र होइन, मानसिक सहनशीलताको पनि परीक्षा हो। तनाव, निराशा र असफलतालाई व्यवस्थापन गर्न सिक्नुहोस्।
११. निरन्तरता नै सफलताको मूलमन्त्र हो
“Consistency beats Intensity.”
एक दिन १५ घण्टा पढेर पाँच दिन नपढ्नुभन्दा दैनिक ५–६ घण्टा नियमित अध्ययन धेरै प्रभावकारी हुन्छ।
१२. असफलतालाई शिक्षकका रूपमा स्वीकार गर्नुहोस्
असफलता अन्त्य होइन, सुधारको अवसर हो। प्रत्येक असफलताले सफलताको अर्को ढोका खोलिरहेको हुन्छ।

 

 

 

 

 

 

 

 

 

 

स्मरणीय ५ ‘टपर मन्त्र’
• लक्ष्य स्पष्ट बनाऊ।
• गहिरो बुझ, कण्ठ मात्र नगर।
• दैनिक लेख्ने बानी बसाल।
• आत्मविश्वास जोगाइराख।
• हार नमानी निरन्तर अघि बढ।

२०८३ जेष्ठ १९, मंगलवार १४:०८ प्रकाशित
ट्रेन्डिङ समाचार