सुशासन र समृद्धितर्फ गणतन्त्रलाई केन्द्रित गरौँ : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ  ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्रलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई परिपक्व बनाउँदै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्ने बताइन्।

भण्डारीले गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने माध्यम भएको उल्लेख गरिन्। राज्यका सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले विपन्न, उत्पीडित र सीमान्तकृत नागरिकले राज्यप्रति अपनत्वको अनुभूति गर्न पाउनुपर्ने बताइन्।

उनले गणतन्त्र स्थापना र नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका अग्रजहरूको योगदानको सम्मान गरेकी छन्। साथै, राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डता कायम राख्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरिन्।

२०८३ जेष्ठ १५, शुक्रबार ०९:३९ प्रकाशित
ट्रेन्डिङ समाचार