एसईईको कपि परिक्षणमा गम्भीर लापारवाही गरेको गुनासो सहित ३३ हजारले दिए पुनर्योगका लागि निवेदन
हतारमा कपी परीक्षण गर्दा अन्याय ? एसईई बोर्डमाथि अभिभावकको आक्रोश
काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा (एसईई)को कपि परीक्षणमा गम्भीर लापारवाही भएको गुनासोसहित देशभरका ३३ हजारभन्दा बढी विद्यार्थी पुनर्योगका लागि पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका छन्। यसले एसईईको नतिजामाथि नै गम्भीर प्रश्न उठाएको छ।
विद्यार्थी तथा अभिभावकहरूले कपि परीक्षण हतार–हतारमा, गैरजिम्मेवार ढंगले र मनपरी रूपमा गरिएको आरोप लगाएका छन्। “परीक्षाफल छिटो सार्वजनिक गर्ने नाममा शिक्षकलाई दबाब दिएर हतारमा कपि जाँच गराइयो, जसका कारण वास्तविक मेहनत अनुसार अंक दिइएन,” पीडित अभिभावकहरूको गुनासो छ।
कतिपय विद्यार्थीले आफूले अपेक्षा गरेकोभन्दा अत्यन्त कम अंक आएको, कपि परीक्षणमा निष्पक्षता नदेखिएको तथा यसले मानसिक रूपमा ठूलो असर पुर्याएको बताएका छन्। अभिभावकहरूका अनुसार विशेषगरी काठमाडौंका परीक्षा केन्द्रहरूमा कपि परीक्षणमा गम्भीर कमजोरी र लापारवाही देखिएको छ। यस्तै गुनासो देशभरबाट आउने क्रम जारी छ।
परीक्षा बोर्डले गत वैशाख २८ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो। तर नतिजाप्रति असन्तुष्टि बढेपछि अहिले बोर्डले पुनर्योगका लागि परेका निवेदनअनुसार उत्तरपुस्तिका खोज्ने प्रक्रिया सुरु गरेको जनाएको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्नेछ।
यता, नतिजामा त्रुटि भएको भन्दै पुनर्योगको पर्खाइमा रहेका धेरै विद्यार्थी अहिले थप पीडामा परेका छन्। कतिपय निजी कलेजहरूले भर्ना परीक्षा सुरु गरिसकेकाले पुनर्योगको परिणाम नआउँदै विद्यार्थीहरू प्रवेश परीक्षा दिन बाध्य भएका छन्। यसका कारण धेरै विद्यार्थी राम्रो कलेजमा आवेदन दिनबाटै वञ्चित भएको अभिभावकहरूको आरोप छ।
“विद्यार्थीको मेहनत, सपना र भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन,” अभिभावकहरूले आक्रोश व्यक्त गर्दै आगामी दिनमा यस्ता गम्भीर त्रुटि दोहोरिन नहुने चेतावनी दिएका छन्। उनीहरूले कपी परीक्षण प्रक्रिया पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउन माग गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले भने पुनर्योगको नतिजापछि विद्यार्थीलाई आफ्नै उत्तरपुस्तिका हेर्न दिने व्यवस्था गरिने जनाएको छ। त्यसपछि पुनःपरीक्षणका लागि समेत निवेदन दिन सकिने बोर्डको भनाइ छ।
यस वर्षको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए। गत चैत २९ गते सम्पन्न परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।