राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न 


काठमाडौँ  ।  काठमाडौँस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ हालसम्म ८७.०८ प्रतिशत सम्पन्न भएको छ। थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा कार्यालयले गणनाको प्रगति विवरण सार्वजनिक गरेको हो।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार वैशाख २ गतेदेखि सुरु भएको गणना असार ७ गतेसम्म जारी रहनेछ। यस अवधिमा देशभरका गणकहरूले स्थलगत रूपमा तथ्याङ्क सङ्कलन गरिरहेका छन्, जसअन्तर्गत हालसम्म ८ लाखभन्दा बढी कागजी फारम र १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण गरिएको छ।

प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले गणना कार्य सक्रिय रूपमा अघि बढिरहेको बताउँदै प्रतिष्ठान तथा व्यवसायहरूलाई सही र यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनले सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरी गणनामा सहजीकरण गर्न पनि अनुरोध गरे।

उनका अनुसार यो गणना आर्थिक नीति निर्माण, राष्ट्रिय लेखा प्रणाली सुदृढीकरण, रोजगारी तथा व्यवसायसम्बन्धी तथ्याङ्क संकलन र भविष्यका सर्वेक्षणका लागि आधार तयार गर्न महत्वपूर्ण हुनेछ।

२०८३ जेष्ठ ४, सोमबार १९:१९ प्रकाशित
ट्रेन्डिङ समाचार