काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली युवा अमृत झा अझै इरानको जेलमै रहेको स्पष्ट पारेको छ। यसअघि उनी रिहा भएको सूचना सार्वजनिक भए पनि मन्त्रालयले त्यो अनौपचारिक र गलत जानकारी भएको स्वीकार गर्दै माफी मागेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा झाको मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ। विज्ञ टोलीले प्रतिवेदन तयार पारेर अदालतमा बुझाउने प्रक्रिया चलिरहेको पनि मन्त्रालयले बताएको छ।
गत महिना परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी दिएका थिए। झालाई जनवरीमा इरानको क्युसिएम टापुबाट अन्य विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ।
२०८३ जेष्ठ ४, सोमबार १८:४६ प्रकाशित


