सर्वोच्चको नजिरमाथि प्रश्न ?


काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले उद्धृत गरेका अन्तर्राष्ट्रिय नजिरको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ । आदेशमा उल्लेख गरिएका विदेशी नजिर र वास्तविक फैसलाको सिद्धान्त मेल नखाएको भन्दै सूचनाको हकअन्तर्गत निवेदन दर्ता गरिएको हो ।

अधिवक्ता विवेक चौधरी ले सर्वोच्च अदालतका सूचना अधिकारीसमक्ष निवेदन दर्ता गर्दै आदेशमा उल्लेखित अन्तर्राष्ट्रिय फैसलाको आधिकारिक प्रतिलिपि, कानुनी उद्धरण तथा अभिलेख माग गरेका छन् । उनले आदेशमा उद्धृत केही नजिर अध्ययन गर्दा वास्तविक फैसला र सर्वोच्चको व्याख्याबीच भिन्नता देखिएको दाबी गरेका छन् ।

सर्वोच्चको संयुक्त इजलासले अदालतको अवहेलनासम्बन्धी आदेशमा ‘निहित शक्तिको सिद्धान्त’ व्याख्या गर्ने क्रममा भारत, बेलायत, अमेरिका र श्रीलंकाका विभिन्न चर्चित मुद्दा उद्धृत गरेको थियो । निवेदनमा भारतीय लेखिका अरुन्धती राय सम्बन्धित मुद्दाका आधिकारिक आदेश र उद्धृत पृष्ठसमेत माग गरिएको छ ।

कानुन व्यवसायीहरूले अदालतले उद्धृत गरेको नजिर र वास्तविक सिद्धान्त फरक देखिएमा त्यसले न्यायिक विश्वसनीयतामै प्रश्न उठाउने बताएका छन् । यससँगै सर्वोच्च अदालतको आदेशलाई लिएर ‘नजिर विवाद’ सुरु भएको छ ।

 

२०८३ जेष्ठ ४, सोमबार १८:४१ प्रकाशित
ट्रेन्डिङ समाचार