लोकसेवाको परीक्षामा ३ हजार पदमा ४ लाख ५९ हजार आवेदन,सरकारी जागिरको मोह कि बेरोजगारीको पीडा ?


–युवाको असाधारण आकर्षण, औसत उमेर २८ वर्ष; ७७ जिल्लाबाटै आवेदन

सबैभन्दा बढी आवेदन मधेशका जिल्लाबाट

काठमाडौं ।मुलुकमा बेरोजगारीको समस्या चर्किंदै जाँदा सरकारी सेवामा प्रवेश गर्न चाहने युवाको संख्या हरेक वर्ष अस्वाभाविक रूपमा बढिरहेको देखिएको छ । पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा लोकसेवा आयोगले विभिन्न सरकारी निकायका ३ हजार १ सय ८१ पदका लागि विज्ञापन खुलाउँदा ४ लाख ५९ हजार ८ सय ३४ जनाले आवेदन दिएका छन् ।

लोकसेवा आयोगका अनुसार उक्त अवधिमा विभिन्न सेवा सञ्चालन गर्ने निकायबाट प्राप्त मागअनुसार आयोगले ४ सय ९६ वटा बढुवा विज्ञापन, १ सय ४१ वटा आन्तरिक प्रतियोगितात्मक परीक्षा, २ सय ८६ वटा खुला प्रतियोगितात्मक परीक्षा तथा ५ सय ९० वटा समावेशी समूहअन्तर्गतका विज्ञापन गरी जम्मा १ हजार ५ सय १३ वटा विज्ञापन तथा बढुवा सूचना प्रकाशित गरेको थियो ।

यी विज्ञापनअन्तर्गत बढुवातर्फ १ हजार ५०, आन्तरिक प्रतियोगितातर्फ ३ सय ३२, खुला प्रतियोगितातर्फ ९ सय ५० तथा विभिन्न समावेशी समूहअन्तर्गत ८ सय ४९ पदका लागि विज्ञापन गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार लोकसेवा आयोगप्रति युवायुवतीमा रहेको उच्च विश्वासका कारण देशका ७७ वटै जिल्लाबाट आवेदन परेको हो । सबैभन्दा धेरै आवेदन पर्ने पाँच जिल्लामा क्रमशः सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट रहेका छन् । यी पाँच जिल्लाबाट मात्रै ८० हजार १ सय ६८ आवेदन परेको छ, जुन कुल आवेदनको १७.४३ प्रतिशत हो ।

त्यसैगरी सबैभन्दा कम आवेदन पर्ने जिल्लामा मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पा रहेका छन् । ती जिल्लाबाट जम्मा २ हजार १ सय ८२ आवेदन परेको आयोगले जनाएको छ, जुन कुल आवेदनको ०.४७ प्रतिशत मात्र हो ।

लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष आवेदन दिने उम्मेदवारको औसत उमेर २८ वर्ष रहेको छ । त्यस्तै, आयोगले प्रकाशन गरेका निजामती सेवातर्फका ४४ वटा विज्ञापनमा भने एक जनाको पनि आवेदन नपरेको तथ्यांक सार्वजनिक भएको छ ।

लोकसेवा आयोगको तथ्यांकले सरकारी सेवाप्रति युवाको आकर्षण वर्षेनि उच्च रहँदै आएको देखाउँछ । यद्यपि आवेदन दिने संख्या कहिले बढ्ने र कहिले घट्ने क्रम रहे पनि समग्र प्रतिस्पर्धाको प्रवृत्ति भने उस्तै देखिएको आयोगको विश्लेषण छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४ लाख ७३ हजार ४ सय ९० जनाले आवेदन दिएका थिए । गत आर्थिक वर्षमा भने आवेदन संख्या २.८९ प्रतिशतले घटेको छ । विगत १० वर्षको तथ्यांक विश्लेषण गर्दा आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी ८ लाख ४४ हजार २ सय ९७ आवेदन परेको थियो ।

लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माले आयोगप्रतिको विश्वासकै कारण युवाको आकर्षण निरन्तर बढिरहेको बताउनुभयो । उहाँका अनुसार आयोगले परीक्षा सञ्चालनका क्रममा योग्यता, निष्पक्षता र स्वच्छताको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्दै आएको छ ।

“उम्मेदवार छनोट प्रक्रियालाई थप वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउन एसेस्मेन्ट सेन्टर मेथोडोलोजीसहित विश्वभर प्रयोगमा रहेका आधुनिक परीक्षण विधि लागू गरिएको छ,” प्रवक्ता शर्माले प्रशासनपोष्टसँग  भन्नुभयो ।

२०८३ जेष्ठ ४, सोमबार १७:१६ प्रकाशित
ट्रेन्डिङ समाचार