काठमाडौ ।
विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता बीवाईडीले ‘फ्ल्यास चार्जिङ’ प्रविधि र दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ सार्वजनिक गर्दै ईभी क्षेत्रमा नयाँ क्रान्ति ल्याएको छ । कम्पनीका अनुसार नयाँ प्रविधिबाट गाडीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न केवल ५ मिनेट र ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट मात्र लाग्छ ।
कम्पनीले १ हजार ५ सय किलोवाट क्षमताको सुपरफास्ट चार्जिङ प्रणाली विकास गरेको दाबी गरेको छ, जसले एक पटकको फुल चार्जमा १ हजार किलोमिटरभन्दा बढी रेन्ज दिने बताइएको छ । अत्यधिक चिसो मौसममा समेत यो प्रविधिले प्रभावकारी रूपमा काम गर्ने कम्पनीको भनाइ छ ।
बीवाईडीका एसिया प्यासिफिक महाप्रबन्धक लियू शुएलिङले यो प्रविधि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरिने जानकारी दिएका छन् । नेपालमा पनि भविष्यमा यो प्रविधि भित्रिने सम्भावना रहेको उनले संकेत गरेका छन् ।


