काठमाडौं
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्ने सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पण्डेका अनुसार आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।
त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस हुनेलगायतका विभिन्न कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


