एमालेको ११ औ महाधिवेशनको सबै तयारी पुरा : ३ लाख कार्यकर्ता उतारिने


काठमाडौ
नेकपा एमालेको ११ औ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनमा तीन लाख कार्यकर्ता उतार्ने गरी तयारी अन्तिम चरणमा पुगेको एमाले नेताहरुले बताएका छन् ।
‘मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता आउनु हुन्छ,’ भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले भने ।
उनका अनुसार भक्तपुरबाट मात्र २० हजार बढी संख्यामा मानिस सभामा आउने छन् ।

चौरमा १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना एमालेको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधिमैत्री हुने छ । मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ । ‘साँझसम्ममा मञ्च तयार हुन्छ,’ उनले भने ।
एमाले पोलिटब्युरो सदस्य तथा मञ्च व्यवस्थापनका संयोजक बिनोद श्रेष्ठका अनुसार उद्घाटनमा अहिलेसम्म १० वटा महाधिवेशन भएकाले वरिपरि १० वटा झण्डा र बीचमा अहिले ११ औंको झण्डा राख्ने तयारी छ ।

११ औं झण्डालाई झण्डोत्तोलनका साथै इलेक्ट्रिक दियो बालेर उद्घाटन गर्ने तयारी छ । तर यसबारे आज बेलुकासम्म थप निर्णय हुने उनले बताए ।

यसपटक सर्वसाधरणको सवारीमा समस्या नहुनेगरी व्यवस्थापन गरिएको एमालेले जनाएको छ । महाधिवेशनमा आएका गाडीहरू जगते र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
शनिबार ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सक्ने योजना एमालेको छ ।

 

२०८२ मंसिर २६, शुक्रबार १६:२८ प्रकाशित
ट्रेन्डिङ समाचार