काठमाडौं
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो ।
उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो ।
भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।
२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


