ओली र लेखक पक्राउ गर्न प्रमको पत्र मागिएपछि हच्कियो सरकार


काठमाडौ
जेनजी आन्दोलनमा युवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजीका केहि पक्षले सरकारसँग माग गरेपनि प्रहरीले भने त्यसलाई अस्वीकार गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पुर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्दा हुन सक्ने सम्भावित भिडन्त र क्षतिको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै त्यसको जिम्मा लिनुपर्ने सहितको लिखित पत्र आएमा मात्रै पुर्व प्रम र गृहमन्त्री विरुद्धको जाहेरी लिन सकिने जवाफ दिएका छन् । प्रहरी महानिरीक्षकको यस्तो जवाफ पछि सरकार हच्किएको छ
यस विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाएर सोमबार मध्यरातिसम्म छलफल गरेका थिए ।
ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न जाँदा पनि प्रहरीले दर्ता गर्न नमानेको भन्दै जेनजीका अगुवा सुदन गुरुङसहितको टोलीले सरकारलाई तीव्र दबाब दिइरहेको छ।
उनीहरूले सामाजिक सञ्जालमा पनि ओली र लेखकलाई गिरफ्तार गर भन्ने अभियान चलाइरहेका छन्।तर प्रहरीले यस सम्वन्धमा छानबीन गर्न छुटै जाँचबुझ आयोग गठन भएकाले सो आयोगको प्रतिवेदन नआउदा सम्म कसैलाई पक्राउ गर्न नसकिने स्पष्ट पार्दैं आएको छ । यससँगै पुर्व प्रम ओली र पुर्व गृहमन्त्री लेखक तत्काल पक्राउ हुनबाट जोगिएको बताइएको छ । यद्यपि उहाँहरुलाई पक्राउ गर्न दवाब भने बढ्दो छ ।
केही दिनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि बालुवाटारमै गएर प्रधानमन्त्री कार्कीलाई ओली र लेखकमाथि कारबाही अघि नबढाउनुको कारण मागेका थिए।

 

२०८२ आश्विन २१, मंगलवार १३:३८ प्रकाशित
ट्रेन्डिङ समाचार