पुर्व प्रम ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सिफारिस


काठमाडौं
–काठमाडौ उपत्यका बाहिर जान निषेध
–पाँचै जना छानबीनको दायरामा

जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ । छानविन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो ।त्यसरी पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा पुर्व प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गर्दै आएका छन् ।
तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।
जाँचबुझ आयोगले जेन–जी आन्दोलन दमनमा तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक सहित प्रमुख जिल्ला अधिकारी रिजालको पनि भूमिका हुनसक्ने देखिएको अनि उनीहरुको पासपोर्ट यथावत राख्दा विदेशतिर लाग्ने जोखिम हुनसक्ने भन्दै पासपोर्ट रोक्काको सिफारिस गरेको हो ।

२०८२ आश्विन १२, आईतवार २२:५१ प्रकाशित
ट्रेन्डिङ समाचार