काठमाडौं । जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौं लगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्न भएका छन् । काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो ।
काठमाडौंबाहिर कतिपय स्थानीय तहहरूले भने भोलिबाटै पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । काठमाडौं महानगरले मातहतका विद्यालयहरूलाई पठाएको सूचनामा भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन तर विद्यार्थीलाई नबोलाउन भनिएको छ । शिक्षक कर्मचारीले विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।
विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध गर्ने निर्देशन पनि महानगरको छ ।


