देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमी तराई आसपास र पूर्वी तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन पश्चिमी भूभागमा बढी सक्रिय हुने देखिन्छ । हाल देशभर पूर्ण बदली छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा छिटपुट वर्षा भएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रसहित देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस प्रदेश र अन्य तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र देशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली र तराईमा आंशिक बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश र अन्य तराई क्षेत्रमा छिटपुट वर्षा हुन सक्छ। गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाका कारण गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भूक्षय, पहिरो, बाढी र गेग्रान बहावको जोखिम छ । सहरी र तराई क्षेत्रमा डुबानको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

२०८२ श्रावण २९, बिहीबार ०९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार