भदौ दोस्रो सातादेखि फेरि आन्दोलन थाल्ने शिक्षक महासंघको चेतावनी


काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने जनाएको छ। महासंघको आज बसेको बैठकले सम्झौता अनुसार  विद्यालय शिक्षा ऐन नआए भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ऐन पास हुने प्रकृयामा नगए र सहमति अनुसार ऐन नबने आन्दोलन सुरु गर्ने बताए।

‘हामीहरूसँग भएको सहमति अनुसार ऐन आएन भने भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेका छौँ,’ अध्यक्ष सुवेदीले भने ‘त्यसका लागि भदौ ३/४ गते राष्ट्रिय समितिको बैठक बोलाएका छौँ।’

उनले राष्ट्रिय समितिको बैठक पछि आन्दोलन कसरी सुरु गर्ने भन्ने निर्णय गर्ने जनाए।

महासंघले सरकारलाई विद्यालय शिक्षा ऐन ल्याउन आज (साउन २२) गते सम्म समय सीमा दिएको थियो। समय सीमा भित्र ऐन जारी नभएपछि आज बैठक बसेर आन्दोलनमा जाने निर्णय गरेको हो।

यसैबीच, आज प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षकको बढुवाको आधार तयार पारेको छ। बिहीबार बसेको समितिको बैठकमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ।

सहमतिअनुसार अब आन्तरिक प्रतिस्पर्धा, जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवा गर्ने सहमति भएको छ।

२०८२ श्रावण २२, बिहीबार १७:४५ प्रकाशित
ट्रेन्डिङ समाचार