काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन्।
विदेश जान चाहने विद्यार्थीलाई रोक्न नसकिएपनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन्।
महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन्।
महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन्।
‘अझैपनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ। यस विषयमा आज क्याविनेटमा राख्नेछु। यो क्याम्पसले आजसम्म कुनैपनि क्वालिटी नपुगेको भन्ने मलाई लाग्दैन। कुनैपनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन। कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो।’
यसैगरी मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।


