काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–दुम्किबास सडक अवरुद्ध भएको छ । वर्षापछि दाउन्नेको खुर्सानी खोलामा सडक भासिएपछि रातिदेखि नै यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । भासिएको सडकमा लु१क ५८२७ नम्बरको ट्रक फसेको छ ।
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएन चोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् ।
सडक खुलाउने प्रयास भएपनि वर्षाका कारण केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।
खुर्सानी खोलामा पटक–पटक सडक भासिदा सडक अवरुद्ध हुँदै आएको थियो । नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । पहिरोले केही स्थानमा सडक भासिएको छ । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन कठिन भएको बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाउने जानकारी दिए ।


