अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने
काठमाडौं । सरकारले मोटरसाइकलको पछाडी बस्ने यात्रुले पनि हेल्मेट लगाउनै पर्ने व्यवस्था फेरि लागू गर्ने भएको छ । यस अघि विसं २०६१ मा पनि त्यो नियम लागू गरिएको थियो, तर व्यवहारिक नभएको भन्दै करिब २ वर्षपछि त्यसलाई हटाइएको थियो ।
सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरिएको छ ।
विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ ।
विधेयकमा सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई सर्वसाधारण जनतालाई सरल, सुलभ र गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले मोटरसाइकलका यात्रुले पनि हेलमेट लगाउनु पर्ने व्यवस्था गरिएको बताइएको छ ।
त्यस्तै उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ ।
विधेयकमा ठूला सवारी साधनका चालकको उमेर कम्तिमा २३ वर्ष र मझौला तथा सानो (चार पांग्रे) का हकमा पूरा भएको हुनुपर्ने उल्लेख छ । साढे तीन र दुई पांग्रे सवारी साधन (मोटरसाइकल) चालकका हकमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।


