गृहको निर्देशनसँगै तीनवटै सुरक्षा निकायको उपनिर्वाचन तयारी सुरु


काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा तयारी थाल्न निर्देशन दिएको छ ।

गृहको निर्देशनसँगै तीनवटै निकायले सुरक्षासम्बन्धी तयारी थालेका छन् ।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । प्रहरीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको कमाण्डमा समिति गठन गरिएको हो ।

उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने छ ।

समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरूको अध्ययन गरेर काम गर्नेछ ।

त्यसका लागि उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरूसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।

सशस्त्र प्रहरी बलले पनि गृहको निर्देशनपछि उपनिर्वाचन सुरक्षाको तयारी थालेको छ । सशस्त्रको कार्य विभागका एसएसपी दिग्विजय सुवेदीको कमाण्डमा सशस्त्र प्रहरीले केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरेर काम सुरु गरेको हो ।

२०८१ कार्तिक २३, शुक्रबार १९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार