काठमाडौं । बालबालिकाको सर्वांगीण विकासका लागि ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा औपचारिक रूपमा सुरु भएको छ । बिहीबार दशरथ रङ्गशालामा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुन उडाएर कार्यक्रमको उद्घाटन गरे ।
समारोहमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ, खेलकुदमन्त्री तेजुलाल चौधरी र अर्थमन्त्री विष्णु पौडेलको उपस्थिति थियो। विश्व फुटबल महासङ्घ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यो कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यो कार्यक्रम अघि बढ्नेछ । कार्यक्रमले विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने उद्देश्य लिएको छ ।
विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक र शिक्षकलाई तालिम, तथा फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता जस्ता जीवनोपयोगी सीपहरू सिकाइनेछ ।


