सरकारद्धारा ‘आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा,रोजगारीका अवसर बढ्ला ?


काठमाडौं

सरकारले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ ।यस घोषणासँगै रोजगारीका अवसरहरु सिर्जना हुने विश्वास गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सोमबारबाट काठमाडौंमा सुरु राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगारी प्रवद्र्धन दशक रोजगारी सिर्जना गर्ने उद्यमशिलता वृद्धिको दशक भएको बताए । उनले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताए ।ओलीले
विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने धारणा राखे । उनले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने दक्ष जनशक्ति र धेरै भन्दा धेरै रोजगारी स्वदेशभित्रै सृजना गर्न लाग्नुपपर्नेमा जोड दिए ।कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी १० वर्षभित्र उद्यमशीलता बढाउँदै सरकारले श्रमशक्तिको न्यायोचित हिसाबले मूल्यांकन गर्ने बताए । उनले आन्तरिक रोजगार प्रवद्र्धन दशकमा निजी क्षेत्रको प्रवर्द्धन र विस्तारमार्फत थप रोजगारी सिर्जना गर्ने स्पष्ट पारे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पुँजीबजार चलायमान नभएसम्म नेपालको श्रमशक्तिलाई व्यवस्थित गर्न नसकिने बताए । उनले उद्योग उद्यमशीलता सञ्चालन गर्नका लागि यस क्षेत्रलाई शिशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सहज रुपमा काम गर्न पाउँदा रोजगार बृद्धि हुनेभन्दै यसका लागि सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । साथै
यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्वीस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

 

२०८१ फाल्गुन २६, सोमबार १६:०४ प्रकाशित
ट्रेन्डिङ समाचार