ADVERTISEMENT

सिंहदरबारको आँखाबाट ओझेलमा : वास्तविक सुकुम्बासीका आँसु, पीडा र बिचल्ली !

विकल्प नदिई होल्डिङ सेन्टरबाट समेत नहटाऊ, सरकार ! नागरिकको आँसुले पोल्न सक्छ, अभिभावक बनेर सोच, कठोर शासक होइन !

काठमाडौं । सरकार ! यो देश हुनेखानेहरूको मात्रै होइन, हुँदा खानेहरूको पनि हो । महलमा बस्नेहरूको मात्रै होइन, एउटा छानोको अभावमा जीवन बिताउन विवश नागरिकहरूको पनि हो । राज्यको नजरमा नागरिक सबै समान हुन् भने सुकुम्बासीको पीडा पनि राज्यकै सरोकार बन्नुपर्छ । तर, आज सिंहदरबारको आँखाबाट वास्तविक सुकुम्बासीका आँसु, पीडा र विवशता ओझेलमा परिरहेका छन् ।

सहरका विभिन्न स्थानबाट सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान चलिरहँदा एउटा गम्भीर प्रश्न उठेको छ– सुकुम्बासीका नाममा बसेका हुकुम्बासी हटे होलान्, तर साँच्चिकै केही नभएका, आफ्नो भन्नु एक टुक्रा जमिनसमेत नभएका नागरिक कहाँ जाने ? उनीहरूको गाँस, बास र भविष्यको जिम्मेवारी कसले लिने ?

अतिक्रमण हटाउनु राज्यको अधिकार र दायित्व दुवै हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ, नदी किनार र जोखिमयुक्त क्षेत्र अतिक्रमणमुक्त हुनुपर्छ । तर, अतिक्रमण हटाउने नाममा वास्तविक भूमिहीन र विपन्न नागरिकलाई नै बिचल्लीमा पार्नु कस्तो न्याय हो ? राज्यको शक्ति कमजोरमाथि प्रदर्शन गर्न होइन, कमजोरलाई संरक्षण गर्न पनि प्रयोग हुनुपर्छ ।

हिजो काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखियो । उनीहरूलाई सुरक्षित आवास र उचित व्यवस्थापनको आश्वासन दिइयो । तर, अहिले फेरि विकल्पको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने कुरा अगाडि आउँदा उनीहरूको पीडा झन् बल्झिएको छ । हिजो आफ्नो भनिएको अस्थायी बास गुमाएका उनीहरू आज राज्यले दिएको अस्थायी आश्रयसमेत गुम्ने त्रासमा छन् ।

कल्पना गरौँ त, एउटा परिवारका बालबालिका कहाँ सुत्ने ? वृद्धवृद्धा कहाँ जाने ? बिरामीले उपचार कसरी पाउने ? दैनिक ज्यालादारी गरेर दुई छाक टार्ने परिवारले सडकमा पुगेपछि जीवन कसरी धान्ने ? उनीहरूसँग न घर छ, न जमिन छ, न अर्को ठाउँमा गएर बस्ने आर्थिक हैसियत । यस्तो अवस्थामा विकल्पबिनाको विस्थापन उनीहरूका लागि केवल ठाउँ परिवर्तन होइन, जीवन नै संकटमा पार्नु हो ।

सरकार ! वास्तविक सुकुम्बासीहरू कुनै सुविधा मागिरहेका छैनन्, उनीहरू सम्मानपूर्वक बाँच्न पाउने आधार खोजिरहेका छन् । उनीहरूलाई दया होइन, अधिकार चाहिएको छ । उनीहरूलाई आश्वासन होइन, सुरक्षित आवासको सुनिश्चितता चाहिएको छ । उनीहरूको स्वाभिमान र मानवीयताको रक्षा चाहिएको छ ।

हिजो काठमाडौं र भक्तपुरबाट विकल्पबिना सुकुम्बासी हटाउँदा १३ जनाले अकालमै ज्यान गुमाउनुपरेको पीडादायी तथ्यलाई राज्यले बिर्सन मिल्छ ? त्यो घटनाबाट राज्यले के पाठ सिक्यो ? फेरि त्यस्तै मानवीय क्षति निम्तिने अवस्था आउन नदिन सरकारले संवेदनशीलता देखाउनुपर्दैन ? नागरिकको जीवनभन्दा ठूलो कुनै सरकारी अभियान हुन सक्छ र ?

अहिले सुकुम्बासीहरू सडकमा थाल ठटाउँदै, आफ्ना पीडा सुनाउँदै रुँदै हिँडिरहेका दृश्यले राज्यको संवेदनशीलतालाई झकझक्याउनुपर्ने हो । तर, उनीहरूको आवाज सिंहदरबारसम्म पुगेको छ कि छैन ? उनीहरूका आँसु सत्ताको आँखाले देखेको छ कि छैन ? उनीहरूको चित्कारले सरकारको मन छोएको छ कि छैन ? प्रश्न गम्भीर छन् ।

सुशासनको अर्थ केवल अतिक्रमण हटाउनु, संरचना भत्काउनु, आदेश जारी गर्नु र सरकारी जग्गा खाली गराउनु मात्रै होइन । सुशासन भनेको नागरिकको जीवन सहज बनाउनु, राज्यका स्रोतसाधनको न्यायोचित उपयोग गर्नु, कमजोर वर्गको संरक्षण गर्नु र राज्यप्रति नागरिकको भरोसा कायम राख्नु पनि हो । नागरिकलाई रुवाएर, त्रासमा राखेर र बासविहीन बनाएर कस्तो सुशासन स्थापित गर्न खोजिएको हो ?

राज्यको दायित्व नागरिकलाई गाँस, बास, कपास, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकताको सुनिश्चितता गर्नु हो । संविधानले नै आवासको हक र भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीका अधिकारलाई सम्बोधन गरेको छ । त्यसैले वास्तविक भूमिहीनको पहिचान, उचित व्यवस्थापन र सुरक्षित आवासको व्यवस्था गर्नु राज्यको संवैधानिक तथा मानवीय दायित्व हो । यो दायित्वबाट सरकार पन्छिन मिल्दैन ।

अझै पनि समय छ । सरकारले वास्तविक सुकुम्बासी र सुकुम्बासीको नाममा सार्वजनिक जग्गा ओगटेर बसेका हुकुम्बासीबीच निष्पक्ष छानबिन गरी स्पष्ट पहिचान गर्नुपर्छ । वास्तविक भूमिहीनलाई कुनै पनि बहानामा हुकुम्बासीसँग एउटै डालोमा राखेर व्यवहार गर्नु हुँदैन । गलत ढंगले सुविधा लिने र सार्वजनिक सम्पत्ति कब्जा गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्छ । तर, वास्तविक रूपमा घरजग्गाविहीन नागरिकलाई दण्डित गर्ने शैलीमा राज्य प्रस्तुत हुनुहुँदैन ।

होल्डिङ सेन्टरबाट हटाउनुअघि प्रत्येक परिवारको वास्तविक अवस्था बुझियोस् । उनीहरूको स्थायी आवास, जीविकोपार्जन, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार र सुरक्षाको सुनिश्चितता गरियोस् । उचित विकल्प र पुनर्वासको ठोस व्यवस्था नगरी कसैलाई पनि सडकमा पुर्‍याउने निर्णय नगरियोस् । उनीहरूलाई कहाँ, कसरी र कुन आधारमा व्यवस्थापन गर्ने भन्ने स्पष्ट योजना सार्वजनिक गरियोस् ।

सरकार ! तिमी शासक मात्रै होइनौ, यो देशका नागरिकको अभिभावक पनि हौ । अभिभावकले आफ्ना कमजोर सन्तानलाई झन् कमजोर बनाउँदैन, सहारा दिन्छ । उनीहरूको आँसु पुछ्छ, पीडामा मलम लगाउँछ र सुरक्षित भविष्यको बाटो देखाउँछ ।

याद रहोस्, सार्वजनिक जग्गा संरक्षण गर्नु राज्यको दायित्व हो, तर नागरिकको जीवन र सम्मानको रक्षा गर्नु त्योभन्दा पनि ठूलो दायित्व हो । विकास र सुशासनका नाममा कसैको चुलो निभ्न नदिऊँ, बालबालिकाको भविष्य अन्धकारमा धकेलिन नदिऊँ र नागरिकलाई सडकको बासमा पुर्‍याएर राज्य सफल भएको भ्रम पनि नपालौँ ।

वास्तविक सुकुम्बासीलाई विकल्पबिना कतैबाट पनि नहटाऊ, सरकार ! उनीहरूको आँसुको मूल्य बुझ । उनीहरूको स्वाभिमानको रक्षा गर । उनीहरूलाई सुरक्षित बासको ग्यारेन्टी देऊ । सार्वजनिक सम्पत्ति जोगाउने अभियान मानवीयता मार्ने अभियान बन्नुहुँदैन ।

सिंहदरबारले एउटा कुरा नबिर्सियोस्– राज्यको शक्ति कमजोर नागरिकलाई उठिबास लगाउन होइन, उनीहरूलाई उठाएर सम्मानपूर्वक बाँच्न सक्ने बनाउने काममा देखिनुपर्छ । अन्यथा, आज सडकमा पोखिएका यी आँसु भोलि राज्यकै कठोरताको इतिहास बन्न सक्छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार